भीमदत्तको चुनावी समीकरणः बलियो कांग्रेसका लागि गठबन्धनका लोकप्रिय युवा उम्मेदवार भारी

भीमदत्तनगर । गत स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण पराजित भएको नेपाली कांग्रेसले यसपटक मेयर जित्ने बलियो आँकलन गरेको छ । तर उसका लागि गठबन्धनभित्रकै माओवादी र समाजवादीका उम्मेदवार तगारो बनेका छन् ।

कञ्चनपुर जिल्लामा तालमेल नभएपछि गबठन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । समाजवादी केन्द्रले मेयरमा यसअघिका वडाअध्यक्ष तथा नगर प्रवक्ता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । माओवादीले भने महाकालीका कुलमान भनेर चर्चित कृष्णदत्त जोशी बोक्सरलाई अघि सारेको छ । दुबै जना नगरमा निकै परिचित र स्वच्छ छविका भएका मानिन्छन् ।

कांग्रेसले यसअघिकै पराजित मेयर पदम बोगटीलाई उम्मेदवार बनाएको छ । कांग्रेसभित्र एनपी साउद र रमेश लेखक गुटबीचको अस्वस्थ्य लडाईको असर यसपटक समेत देखिने जानकार बताउँछन् ।

एमालेबाट भने विद्यार्थी नेता महेश पन्त उम्मेदवार बनेका छन् ।

भीमदत्तनगरमा संगठनका हिसाबले कांग्रेस र एमाले मुख्य हुन । तर एमालेको विभाजनपछि भने संगठन कमजोर बनेको हो । यसअघि एमालेका तर्फबाट विजयी भएका मेयर सुरेन्द्र विष्ट केपी ओली समूहमा लागेपनि उनी घनश्याम भुसाल निकट भएकोले ओली पक्षले उनलाई मन पराउँदैनन् । हाल जिल्ला अध्यक्ष समेत रहेको उनले सिफारिस गरेका जिल्लाका उम्मेदवारहरुलाई केपी ओलीले बदर गर्दै करिब करिब सबै स्थानमा नयाँ उम्मेदवार घोषणा गरेपछि उनले पुनः मेयरमा उम्मेदवार नदिने घोषणा गरेका थिए । यदि उनी उम्मेदवार भएको खण्डमा भने कांग्रेसको टक्कर उनीसँग हुने अवस्था सिर्जना हुन्थ्यो ।

समाजवादीका मेयर राजेन्द्र पाण्डे वडा नं। १८ का पूर्व वडाध्यक्ष हुन । भीमदत्तको सबैभन्दा ठूलो र निर्णायक महत्व राख्ने यो वडाले जीत र हारमा ठूलो अर्थ राख्छ । पाण्डे यसअघि विष्ट मेयर भएको बेला नगर प्रवक्ता समेत थिए । त्यसैले नगरपालिकाको काम कारवाही, समस्या र चुनौतीबारे उनी मज्जैले जानकार छन् । तर सुरुआती चरणमा मेयर विष्टसँग उनको सम्बन्ध राम्रो भएपनि पछिल्ला दिनमा भने उनले मेयर घेराबन्दीमा परेको र नगरपालिकामा सुशासनको अभाव भन्दै विष्टको विरुद्धमा उभिएका थिए ।

युवाहरुमाझ उनी निकै लोकप्रिय रहेका छन् । र, उनलाई साथ दिएका छन माओवादीका तर्फबाट उपमेयर कृष्णदत्त जोशी बोक्सरले । बोक्सरले नाम परिचित जोशी यसअघि महाकाल अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष समेत थिए । अस्पतालको इतिहासमा बोक्सरको कार्यकाल सबैभन्दा सफल मानिन्छ । उनले आइसियू कक्षदेखि डाक्टरको व्यवस्था र अस्पताललाई पूर्ण सेवा सुविधासम्पन्न बनाउन निकै मेहनत गरेका थिए । त्यसैले उनलाई कुलमान भनेर समेत कतिपयले चर्चा गर्ने गर्दछन् । शिक्षण पेशाको लामो अनुभव बोकेका जोशी कुनै कुरामा लागेपछि त्यसलाई पूर्ण बनाएरै छाडने स्वभावका छन् । त्यसैले उनलाई कुनै पार्टीको ट्याग लाग्ने सम्भावना कम छ । उनले लोकप्रिय मतका आधारमा उपमेयरमा जित्ने सम्भावना बलियो बनेको हो ।

यसरी यी कतिपय कारणले गर्दा कांग्रेसका लागि गठबन्धनकै दलका उम्मेदवार चुनौती बनेका हुन । तर यसभन्दा अर्को फ्याक्टरले पनि भीमदत्तमा अर्थ राख्छ ।

भीमदत्त नगरपालिकामा डडेल्धुरा र बैतडी जिल्लाका अधिक मतदाता रहेका छन् । हरेक निर्वाचनमा डोट्याल ९डडेल्धुरावासी० र बैतडा ९बैतडीवासी०को नारा निर्वाचन जितहारको मुख्य कारक समेत बन्ने गरेको छ । अहिले कांग्रेसबाट उम्मेदवार बनेका डडेल्धुराका हुन भने समाजवादीका पाण्डे बैतडीका हुन । नेकपा एमालेका उम्मेदवार पन्त समेत बैतडीका हुन । यसअघि यही डोट्याल बैतडाको नाराले रमेश लेखक ९जो बैतडीका हुन०ले बोगटीलाई असहयोग गरेको कारण कांग्रेस पराजित हुनुपरेको चर्चा अहिले पनि चल्ने गरेको छ । त्यसैले कांग्रेसका बोगटीले कांग्रेसको संगठित मत बाहेक बैतडीको मत कम पाउने सम्भावना देखिन्छ । यो अवस्थामा बझाङ घर भएका माओवादीका उपमेयर बोक्सरका कारण बैतडी, दार्चुला र बझाङ, अछामलगायतको मत एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई जाने देखिन्छ ।

एमालेका महेश पन्त भने जुझारु स्वभावका संघर्षशील नेता भएपनि अनुभव नभएको कारण उनले संगठनात्मक र नातागोताको मत पाउने अवस्था मात्रै रहेको आँकलन गरिएको छ ।

यसरी हेर्दा कञ्चनपुरमा यसपटक अप्रत्याशित नतिजा आउने अनुमान गर्न सकिन्छ । बोगटी कांग्रेसका पुराना नेता भएपनि आम जनतामाझ भने उनी लोकप्रिय छैनन् । स्वभावले ‘रिजर्भ’ देखिने बोगटीले पार्टीको र रमेश लेखक पक्षले विगत झै पूर्ण सहयोग गर्न नसक्ने सम्भावनाका कारण क्षेत्रीय मत मात्रै पाउने सम्भावना बढी हो । यो अवस्थामा पाण्डे र बोक्सरको लोकप्रियताका कारण दुबैले पपुलर मत पाउने अवस्था बढेको हो ।

एकीकृत समाजवादी र माओवादी केन्द्रले नगरका १९ वटै वडामा तालमेल गरेका छन् । दुबैले संयुक्त चुनावी प्रचार गरिरहेका छन् । एमाले विभाजनपछि कार्यकर्ता र नेताहरुको ठूलो पंक्ति एकीकृत समाजवादीतर्फ गएकोले उनीहरुको संगठनात्मक अवस्था समेत मजबूत देखिन्छ ।

 

कमेन्ट गर्नुहोस्