पल्लवलाई ‘साइड’ लगाएर कमलालाई उम्मेदवार बनाएपछि एमाले बेलौरीमा चर्को असन्तुष्टि, यही हुनेछ हारको कारण

बेलौरी । भारतीयहरुले सीमा मिच्दै नेपालीका घरजग्गा समेत भारततर्फ मिचेपछि बेलौरीमा ठूलै आन्दोलन भयो । नेपालका नापी कर्मचारीहरुले समेत स्टिप नक्साका आधारमा नक्सांकन गरेको भन्दै पन्छिएपछि स्थानीयवासी आन्दोलित बने ।

त्यतिखेर माओवादीबाट मन्त्री बनेकी बिना मगरले सीमा अतिक्रमणको बिरोधमा मन्त्रिपरिषद्मा कुरा राखिन् । तर त्यतिले मात्रै पुग्ने थिएन । स्थानीयस्तरबाटै तथ्य र प्रमाणसहित आन्दोलनको आवश्यकता थियो । यसको अगुवाई गरे स्थानीय नेता पल्लवराज भट्टले ।

त्यतिखेर नेकपाको गठन भएको थियो । नेकपा स्थानीय समिति र कांग्रेसका समेत केही व्यक्तिहरुले सीमा सरोकार आन्दोलन समिति नै गठन गरे । भट्टको नेतृत्वमा राजधानीमा डेलिगेसन आयो । तत्कालिन मन्त्री बिना मगरको अगुवाईमा भट्टसहितको टोलीले यो विषयलाई राष्ट्रियकरण ग¥यो । फलस्वरुप स्ट्रिप नक्साको विषय विवादित बन्यो । भारतले सोझै दावी गर्ने अवस्था बनेन ।
तर बिडम्बना, बेलौरी क्षेत्रका लागि आवाज उठाइराख्ने र यसअघि समेत बेलौरीको मेयरमा माओवादीसँग सामान्य मतले पराजित भएका पल्लव भट्टलाई पार्टी भने निकै राम्रो ‘पुरस्कार’ दियो । मेयरका स्वभाविक दावेदार रहेका भट्टको नाम मेयरमा उम्मेदवारमा घोषणा भएन । उनका स्थानमा केपी ओली निकट कमला बोहरालाई बेलौरी नगरपालिकाको मेयरमा उठाइयो ।

संयोग नै भनौं, पल्लव भट्टमाथि यो पहिलोपटक भएको अन्याय थिएन । नाताले छिमेकी बहिनी र भट्टले नै राजनीतिमा जोडेकी कमला पल्लव भन्दा शक्तिशाली बनिन् । पहिलोपटक चुपचाप बसेर पार्टी निर्णय मानेका थिए भट्टले । तर त्यही प्रवृत्ति दोश्रोपटक समेत दोहोरिएपछि अब भविष्यमा उनीमाथि न्याय होला भन्ने आसा देखिएको छैन ।

यसअघि सीमाको आन्दोलन र स्थानीयस्तरमा पार्टी, संगठनमा बलियो पकड जमाइरहेका भट्टमाथि भूमि आयोगको जिल्ला नेतृत्व चयन गर्ने बेला ठूलो धोका भएको थियो । त्यतिखेर प्रदेश पार्टीले भट्टलाई भूमि समस्या समाधान आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको थियो । भट्ट संयोजक बन्ने करिब करिब निश्चित नै भइसकेको थियो । तर बाजी मारिन् कमलाले । भट्टले असन्तुष्टि पोखे । तर पार्टीले उनलाई राजनीतिक भविष्य सुरक्षित गर्ने आश्वासन दियो । उनले सांसद मागेका थिएनन् । मेयर मागेका थिए । तर दोश्रोपटक जब मेयरमा उनको दावी थियो, स्थानीय समितिले समेत उनलाई नै सिफारिस गरेको थियो, फेरी पनि कमलाले नै बाजी मारिन । जिल्ला पार्टीको निर्णय उल्ट्याएँदै केपी ओलीले कमलालाई अघि सारे ।

“पार्टीमा भविष्य नै देखिएन ।” पल्लव निकट एक नेता भन्छन्, “संगठनमा काम गर्यो, जनताका लागि लड्यो, रातदिन नभनी पार्टीको काममा जुट्यो तर पद पाउँदा टुरिष्टहरुले बाजी मारे।”
अहिले बेलौरी नगरपालिकाका इमान्दार र प्रतिबद्ध एमाले कार्यकर्तामाझ निराशा छाएको उनले बताए । पार्टी भनेर लागे पनि निर्णायक क्षणमा बारम्बार धोका हुँदा भोलि पनि धोका नहोला भनेर कसरी पत्याउने प्रश्न आम कार्यकर्ताले गरिरहेको उनले बताए ।

पल्लवले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । दुई लाइन संघर्षको लामै अनुभव भएका उनी विद्रोही पनि भएका छैनन् । तर कमलासँग सँगै चुनाव प्रचारमा हिँडन भने उनको मनले दिएको देखिन्न । त्यसैले कमलाको प्रचारमा उनी खुलेर लागेका छैनन् ।

“हामीहरुमा उत्साह छैन । पार्टीको निर्णय मानेर चुनावमा गइदिने कुरा एउटा हो, तर अहिले पल्लवमाथि अन्याय गरेपछि अरु कार्यकर्ताको भविष्य समेत अन्यौलमा परेको लागेको छ । कसका लागि र के का लागि हिँड्ने ?” भन्ने प्रश्न जन्मेको छ ।” उनले भने ।

राजनीतिमा निरन्तरता, क्रियाशीलता, जनतासँगको सम्बन्ध, राजनीतिक इमान्दारिता जस्ता पक्ष महत्वपूर्ण हुन्छन् । तर पल्लवका हकमा भने यी लागु भएनन् । बरु नेतृत्वले निर्मम तरिकाले उनको राजनीतिक इमान्दारिताको घाँटी रेटेको उनी निकट अर्का नेता बताउँछन् ।

बेलौरीमा अहिले पनि माओवादी केन्द्र नै बलियो देखिन्छ । यसअघि माओवादीबाट मेयर रहिसकेका पोतिलाल चौधरी मेयरमा फेरि उम्मेदवार छन् । एमालेभित्रको चर्को विवादका कारण र कमलाको फिल्डमा सक्रियता नभएको कारण हार्ने उम्मेदवारलाई किन भोट दिने भन्ने मानसिकता देखिएको ती नेताले बताए ।

“पल्लव भएको भए एउटा कुरा हो, तर कमलालाई जिताएर पनि उनले भूगोल र समुदायको भावना बुझ्ने होइनन्, । बाहिर बढी बस्ने र क्षेत्रका जनताको दुःख सुख बुझ्ने मानिसलाई नै मत दिनुपर्छ भन्ने आम धारणा रहेको छ ।” उनले भने, “मेयर छँदा पोतिलालका बारेमा कतिपय हल्ला भए पनि जनताको घरदैलोमा जाने र जनताले पनि प्रत्यक्ष सम्पर्क गर्न सक्ने उनी नै हुन् ।”

बेलौरीमा एमालेको यही अन्तरविरोधले माओवादीले सहजै जित्ने अनुमान कतिपयले गरेका छन् । कांग्रेसको आधार भने पहाडी क्षेत्रमा बढी हो । माओवादीको भने पहाडी र थारु दुबैमा सघन संगठन र काम गरेको अनुभव छ ।

पल्लव भने अहिले बोल्न चाहँदैनन् । सम्भवतः उनलाई प्रदेश सांसदको टिकटका लागि प्रदेश र केन्द्रबाट ‘अफर’ आएको होला । तर उनको मनले बुझिसकेको छ, ‘त्यो बेला फेरि उनी सहिद हुनेछन्, उनको ठाउँमा यसअघि जस्तै मर्यादा विष्ट या अरु कसैलाई तेस्र्याइनेछ ।’

 

कमेन्ट गर्नुहोस्