विमानस्थलमा पाकिस्तानी नम्बरबाट शंकास्पद बस्तु रहेको फोन आएपछि खाली गरियो एयरपोर्ट

काठमाडौं । एकजना अपरिचित व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर फोन गरेपछि विमानस्थलका सबै यात्रुलाई बाहिर निकालिएको छ ।

अहिले विमानस्थलबाहिर यात्रु तथा सर्वसाधारणको ठूलो भीड लागेको छ ।

अन्तर्राष्ट्रिय उडानहरु जारी छन् भने आन्तरिक उडान बन्द गरिएको छ ।

विमानस्थललाई नियन्त्रणमा लिएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार, एकजना अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गर्दै घरेलु विमानस्थलको टर्मिनलमा ५, ६ वटा बम रहेको बताएका थिए । बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर बस्ने कार्यालय टीडीओ कार्यालयमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएपछि आन्तरिक उडान रोकिएको हो ।

यस्तै बिहान विमानस्थलमा रहेका मानिसहरू तितरबितर भएका थिए । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विदेशबाट आएको फोनमा नेपालको विमानस्थलका ३ ठाउँमा बम भएको र एक घण्टापछि पड्किने भन्दै थ्रेट कल आएको थियो ।

‘अज्ञात व्यक्तिले विमानस्थलका ड्युटी अफिसरलाई शंकास्पद बस्तु रहेको भन्दै फोन गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। विमानस्थलमा प्रहरीहरू खटिएका छन्’, महानगरीय प्रहरी कार्यालय रानीपोखरी निमित्त प्रमुख डिआईजी उत्तम सुवेदीले बताए।

उक्त सूचना प्राप्त भएपछि तत्कालै एक्सनमा उत्रिएको प्रहरीले सबै यात्रुहरूलाई बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुद्वारा विमानस्थलमा सर्च शुरु भएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्