रेनुको उम्मेदवारी फिर्ता गराउनुस् : कांग्रेस नेता जगन्नाथ पौडेल

काठमाडौँ । भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारी दिएका नेता जगन्नाथ पौडेललाई भेटेका छन् । भेटमा नेता रामचन्द्रले उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका थिए । तर, जगन्नाथले आफूले आफ्नो उम्मदेवारी फिर्ता नलिने अडान दोहोर्‍याए ।

दुई नेताहरूबीच करिब १०/१५ मिनेट कुराकानी भएको थियो । त्यसक्रममा नेता रामचन्द्रले गजन्नाथलाई उम्मेदवारी फिर्ता लिनका लागि अनुरोध गरेका थिए । तर, जगन्नाथले आफू चुनावी घरदैलो कार्यक्रममा जानुपर्ने बताउँदै घरबाट हिँडेका थिए । नेता जगन्नाथले भनेका छन्, ‘मैले पुरानै अडान दोहोर्‍याएँ । बरु रेनुजीलाई फिर्ता गराउनुस् भनेर भनेँ मैले । कुरा यही हो ।’

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहाल उम्मेदवार बनेकी छन् । तर, उनलाई चुनौती दिँदै जगन्नाथले बागी उम्मेदवारी दिएका छन् । उनले पार्टीले आग्रह गर्दापनि उम्मेदवारी फिर्ता लिएका छैनन् । यसपछि उनलाई पार्टीले निष्सकासनसमेत गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्