याे पटक जनकपुरमा माओवादीकाे नयाँ खाता खुल्छ : प्रचण्ड

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधामको वडामा पुगेर प्रचार अभियानमा जुटेका छन्।

सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा भाग लिन जनकपुरधाम पुगेका प्रचण्डले वडा नम्बर १३ कमिटीले गरेको कार्यक्रममा सहभागी भएका हुन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा पार्टीका तर्फबाट वडाध्यक्षका प्रत्याशी मो। कलाम कबारीलाई निर्वाचित गराउन उनले आग्रह गरेका छन्।

उनले कबारीलाई निर्वाचित गराएर जनकपुरमा माओवादीको खाता खोल्न मतदातालाई अनुरोध गरे। ‘जनकपुरमा नयाँ खाता खुल्ने छ माओवादीको र इतिहास बन्नेछ,’ उनले भने।

प्रचण्डले आफू हार्ने भएपछि एमालेका समर्थकहरूले हिन्दु मुस्लिमको विवाद जन्माउने षडयन्त्र गरिरहेको आरोप लगाए।

‘मैले सुनेको छु चुनावमा हार्ने देखेपछि एमालेका मान्छेहरू हिन्दु मुस्लिमको विवाद जन्माउने षडयन्त्र गरिरहेको छ,’ प्रचण्डले भने,‘सचेत रहन मेरो आग्रह छ।’

एमालेको अवरोधका कारण विगतमा संविधान संशोधन हुन नसकेको जिकिर गर्दै प्रचण्डले एमाले मधेसी, आदिवासी, दलितविरोधी पार्टी रहेको उल्लेख गरे।

पटक पटक प्रतिनिधिसभा विघटन गरेर एमालेले मुलुकलाई अन्ध्यारो सुरुगंमा धकेल्ने काम गरेपछि पाँच दलीय गठबन्धन निर्माण भएको उनले बताए।

उनले लोकतन्त्र र गणतन्त्र मास्ने एमालेको षडयन्त्रलाई परास्त गर्न वाम–लोकतान्त्रिक गठबन्धन बनेको उल्लेख गरे। संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूले पाँच दलीय गठबन्धन बनाउँदा एमालेले राजवादीसँग मिलेर प्रतिगमनकारी गठबन्धन बनाएको आरोप प्रचण्डले लगाएका छन्।

‘प्रतिगमनलाई परास्त गर्न हामी पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएको छौं,’ उनले भने,‘राजावादीहरूसँग एमालेले प्रतिगमनकारी गठबन्धन तयार पारेको छ। कसलाई रोज्ने त्यो जनताको हातमा छ।’

कमेन्ट गर्नुहोस्