हुम्लाका मतदान केन्द्र सम्हाल्दै पाँच महिला अधिकृत

हुम्ला – स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतकाे जिम्मेवारी दिइएकाे छ।

डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका-७ को टुलिङ मतदान केन्द्र, सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट-६ को कालाशिल्ता मावि मतदान केन्द्र, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सविता शाही सिमकोट गाउँपालिका-३ को रलिङ मावि मतदान केन्द्र, स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरा नाम्खा गाउँपालिकाको मोतीराम प्रावि मतदान केन्द्र, नापी कार्यालयकी सुधा सापकोटा सिमकोट गाउँपालिका-५ को भीमसेन मावि मतदान केन्द्रको जिम्मेवारी पाएका छन्।

मतदानका लागि २१ प्रतिशत महिला परिचालन गरिएको र महिला मतदान अधिकृतको रूपमा खटिएका मतदान केन्द्रमध्ये चार वटा केन्द्रका लागि कार्यालय सहयोगीबाहेक अन्य सबै महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए।

सिमकोट-५ मा रहेको भीमसेन मावि मतदान केन्द्रमा कर्मचारी, प्रहरी र म्यादी प्रहरी पनि महिला नै खटाइएको बताए। निर्वाचनका लागि जिल्लामा २ सय ५४ जना कर्मचारी परिचालन गरिएको छ।

कमेन्ट गर्नुहोस्