विकास गर्ने माओवादी, जस लिने एमाले : पूर्व मुख्यसचिव पौड्याल

गुल्मी । नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्यालले रगत बगाउने र विकास गर्ने माओवादी भए पनि जस नेकपा एमाले लिँदै आएको बताएका छन्। उनले भने,‘म कुनै राजनैतिक फोहरी खेलमा लागेर होइन एउटा स्वतन्त्र नागरिकको हैसियतले देशमा माओवादीले ल्याएको परिवर्तनको सही सत्य आँकलन गरेको हुँ।’

नेकपा एमाले नेता प्रदिपकुमार ज्ञवालीको निर्वाचन क्षेत्र र जन्मथलोसमेत रहेको त्यस भेगमा माओवादीले लडेर विकास निर्माण ल्याएको उनको भनाई छ। तर, जस भने एमालेले लिँदै आएको उनको आरोप छ। उनले भने, ‘सब भन्दा बढी कुप्रचार यही गुल्मी बम्घामा भएको छ। हामी माओवादी लडेर, राज्यसत्तासँग पौडेजोडी खेलेर साधन-श्रोत ल्याएर यहाँको विकास निर्माणमा काम गर्ने, अनि उही क्या- काम गर्ने कालु मकै खाने भालु भन्याजस्तो, सोशल मिडियामा चोर डाकाहरु भनेर लेख्ने।’

विकास ल्याउने माओवादी भए पनि एमालेलाई जनताले विश्वास गरेको र प्रतिवादमा उत्रन नसकेको पनि उनको बुझाइ छ। उनका अनुसार यस विषयमा जनताले दुई कारणले प्रतिवादन गर्न सकेका छैनन्। कार्यक्रममा उनले भने, ‘अनि तपाईहरुले फेरि त्यहीँ पत्याउने, तपाईहरु प्रतिवाद गर्न नसक्ने। दुई वटा कारणले तपाईहरुले प्रतिवाद गर्न नसकेको हो। पहिलो तपाईहरुलाई प्रशिक्षण थिएन, रुपान्तरणको एजेण्डा बोक्ने मान्छे को हो भन्ने थाह थिएन।

तपाईहरु संगठित हुनु भएको थिएन। उनीहरु संगिठत ढंगले प्रतिवाद गर्थे। तपाई एक्ला–एक्लै हुनुहुन्थ्यो। अब तपाईहरुको काम हो त्यस्ता कुरा आउनेवित्तिकै तुरुन्त पार्टी कमिटी बस्ने, सत्य पत्ता लगाउने, विश्लेषण गर्ने, सूचना सही लिने, लिएपछि सूचनालाई कसरी प्रतिवाद गर्ने भन्नेबारे निर्णय गर्ने। ’

उनले अहिलेको व्यवस्था ल्याउने र रुपान्तरणको एजेण्डा बोक्ने पनि माओवादी पार्टी नै भएको ठोकुवा गरे। उनले कार्यकर्ताहरुसँग प्रतिप्रश्न गर्दै थपे, ‘यो व्यवस्था कसले ल्यायो ? यो व्यवस्थाको वकालत गर्ने को ? यो स्थापित गर्ने को  ? समाज रुपान्तरण भनेको त त्यो हो नि।’

उनका अनुसार हिजो समाजमा जुन किसिमको सामाजिक हिसाबले पछाडि परेको वर्ग-समुदाय थियो, जाति थियो, त्यसलाई राज्य सत्ताको मुख्य केन्द्रमा लैजान, त्यसलाई अवसरहरु दिलाउनका लागि लड्ने शक्ति माओवादी केन्द्र नै रहेको थियो। उनले भने, ‘लड्यो र लडेरै स्थापित गर्यो। संविधानमा, कानुनमा, राज्य प्रणालीमा, व्यवस्थामा, त्यसकारण त तपाईहरु प्रतिनिधि भइरहनुभएको छ। हिजो त त्यस्तो थिएन। अधिकारको रुपमा थिएन। भलै कोही नियुक्त भएका थिए भन्लान् नि।’

नेकपा एमाले र माओवादी एउटै नभएको पनि उनले बताए। उनले भने, ‘तपाईलाई लाग्ला सबै उस्तै-उस्तै हुन्। एमाले र माओवादी भन्या उस्तै उस्तै हुन्। यता गए पनि हुन्छ उता गए पनि हुन्छ। तर, होइन। आधारभूत रुपमा फरक छ। आधारभूत रुपमा एजेण्डा बोक्ने विषयमा फरक छ। राज्य प्राणीलको वकालतको विषयमा फरक छ।’

कमेन्ट गर्नुहोस्