ओलीको पत्रकार सम्मेलन: एमाले सरकारको प्रशंसै–प्रशंसा, विपक्षीलाई आलोचनाको वर्षा!

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले एमालेको सरकार गठन नभई देश विकासको युगमा प्रवेश गर्न नसक्ने बताएका छन्।

एमाले मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले विगतमा एमाले सरकारमा रहँदा स्थानीय तहलाई अधिकारसम्पन्न बनाइ जनताको सरकारको रुपमा स्थापित गरेको पनि बताए।

उनले बहुदलीय प्रजातन्त्र पुनःस्थापनायताका ३० वर्षमा एमाले १० वर्ष सत्तामा रहँदा गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै एमालेकै कारण मुलुकको विकासमा युगान्तकारी उपलब्धी हासिल गरेको दाबी गरे। तर २० वर्ष सरकारमा बसेको कांग्रेसले मुलुकमा कुनै पनि क्षेत्रमा योगदान पुर्‍याउन नसकेको भन्दै आलोचना गरे।

उनले अरु दल अनिश्चयबाट गुज्रिएको भन्दै नेका (कांग्रेस) र माके (माओवादी केन्द्र) लेजस्तो देश र जनतालाई नपिरोल्ने दाबी गरे।

पर्यटनलाई राष्ट्रिय ढिकुटीको रुपमा विकास गर्ने, पर्यटनको विकास गर्ने, गौतम बुद्धको सन्देश बुझ्न पर्यटक ल्याउने उनले प्रतिबद्धता जनाए। छिमेकी मित्रप्रति पूर्ण इमान्दार रहेको उल्लेख गर्दै उनले नेपाली भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र सार्वभौम समानताको नीति प्रयोग गरिने, पारस्परिक लाभका आधारमा वैदेशिक नीति लिइने पनि उनले बताए।

कमेन्ट गर्नुहोस्