गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा दिएको विवादित अभिव्यक्ति सच्याउने प्रयत्न गरेका छन्।

उनले आफूले राजनीतिक दुर्घटनाको कुरा गरेको बताएका हुन्। ‘कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर गलत अर्थ लगाइएको छ। ‘म फेरि पनि गम्भीर रुपले भन्न चाहन्छु, यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि जन्मिएको हो। यदि यो गठबन्धन दायाँबायाँ भयो भने देश फेरि राजनीतिक दुर्घटनामा जान सक्छ,’ आइतबार पोखरामा आयोजित गठबन्धनको सभामा उनले भने।

उनले राजनीतिक दुर्घटनाबाट बचाउनका निम्ति गठबन्धनलाई सफल गर्न अपील गरे। उनले गठबन्धन विचार र राजनीतिक मुद्दामा एकता, संविधानको रक्षा, गणतन्त्रको रक्षा, संघीयताको रक्षामा एकता भएको र सबैलाई फाइदा हुने किसिमले गठन भएको बताए।

भरतपुरमा प्रचण्डले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका थिए।‘तपाईंहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देश र जनताको समृद्धि र विकासको आवश्यकता भन्ने नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको सभामा उनले भनेका थिए।

त्यस्तै, पोखरामा प्रचण्डले एमालेले गरेको तालमेलप्रति कटाक्ष गर्दै राजावादीहरुको गठबन्धन, गणतन्त्र विरोधीहरुको गठबन्धनलाई परास्त गर्न आवश्यक रहेको बताए। ‘अन्यथा देशमा राजनीतिक दुर्घटनाको खतरा छ,’ उनले भने।

कमेन्ट गर्नुहोस्