कांग्रेसको पत्रकार सम्मेलनः प्रचण्ड र आरजुको बचाउ

काठमाडौँ । पाँच दलसम्बन्ध सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको बचाउ गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले यसबारे प्रष्टीकरण दिँदै बचाउ गरेका हुन् । आरजूले यसअघि कांग्रेसबाहेकका दलले जितेको पालिकामा बजेट नै नपठाउने अभिव्यक्ति दिएका थिए ।

यसको बचाउ गर्दै प्रवक्ता महतले भने, ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरुको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’

प्रवक्ता महतले प्रचण्डको अभिव्यक्तिको पनि बचाउ गरेका छन् । उनले चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभामा बोल्ने क्रममा प्रचण्डले दिएको अभिव्यक्तिबारे भने छन्, ‘उहाँले धम्की दिनुभएको होइन ।’

गठबन्धन टुटेर एमालेकै सरकार आएमा अवस्था खराब हुने आशयमा प्रचण्डले विचार व्यक्त गरेको महतले बताए । ‘ओलीको सरकार आएर खराब हुन्छ भन्न त मिल्छ नि । त्यो सोच्नुस् भन्नुभएको हो,’ उनले भनेका छन् ।

प्रचण्डले गठबन्धनकी उम्मेदवार रेनु दाहालले नजिते देश दुर्घटनामा जाने बताएका थिए ।

कमेन्ट गर्नुहोस्