तुलसीपुर र कपिलबस्तुमा गरी २ जना उम्मेदवारको मृत्यु

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब तीन दिनमात्रै बाँकी रहँदा चुनाव प्रचार प्रसारकै क्रममा बिरामी परेर दुई उम्मेदवारको निधन भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति निधन भएको हो ।

चुनाव प्रचारको क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्याइएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो ।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको हो । तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए ।

यस्तै कपिलवस्तुको महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ । दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले जानकारी दिए ।

राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । २०७४ को निर्वाचनमा उपमेयरमा निर्वाचित कुर्मी यसपटक पनि नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी थिइन् ।

उम्मेदवार कुर्मीको मृत्युबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए । आयोगको निर्देशन अनुसार बाँकी निर्वाचन प्रकृया अघि बढाइने उनले बताए ।

कमेन्ट गर्नुहोस्