देउवा गृह जिल्ला डडेल्धुरामा, मतदान गरेर मात्र काठमाडौं फर्किने

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् ।

सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उनका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हानिएका थिए ।प्रधानमन्त्री समेत रहेका देउवाले सोमबार आफ्नो मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

देउवाले आज अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेका नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले बताए ।

उनका अनुसार परशुरामको जोगबुढास्थित लालढुंगामा दिउँसो २ बजे चुनावी सभा हुनेछ । डडेल्धुरामा काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले एमालेसँग तालमेल गरेको छ भने काँग्रेस एक्लै निर्वाचनमा उत्रिएको छ ।

पाँच दलीय गठबन्धनको नेतृत्व देउवाले गरिरहेका बेला उनको गृहजिल्लामा चुनावी तालमेल भएन । उक्त परिस्थितिलाई मध्येनजर गरी देउवा स्थानीय तह निर्वाचनको अन्तिम घडीमा गृहजिल्ला केन्द्रित भएका छन् ।

कमेन्ट गर्नुहोस्