निर्वाचन नजिकिएसँगै कुखुराको मासुको खपत पनि बढ्यो

काठमाडौं । निर्वाचन नजिकिएसँगै मोफसलका जिल्लाहरूमा कुखुराको मासुको खपत बढेको छ । वैशाख लागेसँगै देशभर ब्रोइलर कुखुराको मासुको खपत ३० प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएक छन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मोफसलका जिल्लाहरूमा कुखुराको मासुको खपत ह्वात्तै बढेको जानकारी दिएको छ । संघका अध्यक्ष जंगबहादुर बिसीले वैशाख लागेसँगै देशभर कुखुराको माग बढेको बताउँदै सबैभन्दा धेरै जिल्लाहरूमा खपत बढेको बताए ।

पछिल्लो एक सातायता झनै खपत बढेको उनको भनाइ छ । वैशाखअघि देशभर कुखुराको मासुको कुल माग ५ लाख ६० हजार किलो थियो भने वैशाख लागेसँगै माग ३० प्रतिशतले बढेर ८ लाख किलोभन्दा माथि पुगेको छ ।

यसमध्ये सबैभन्दा धेरै माग मोफसलका जिल्लाहरूमा बढेको उनको भनाइ छ । धेरैवटा जिल्लामा फैलिएको बर्डफ्लुका कारणले मासुको खपत घटेको थियो । तर, स्थानीय तहको निर्वाचन नजिकिएसँगै मासुको खपत र माग बढेको व्यवसायीहरूको भनाइ छ । हाल काठमाडौं उपत्यकामा दैनिक ५ लाख किलो र उपत्यका बाहिर ३ लाख किलो मासुको खपत भइरहेको छ ।

यस्तै, यतिबेला कुखुराको मासुको थोक मूल्य प्रतिकिलो ४३० रुपैयाँ छ । जुन, उपभोक्तासम्म पुग्दा कम्तिमा ४५० रुपैयाँ प्रतिकिलो हुन आउँछ । स्थानीय तहको निर्वाचनसँगै वैशाखमा बिहेको लगन धेरै हुँदा समेत मासुको खपत बढेको हो । यसैगरी, मूल्य बढेको समयमा किसानले ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो ३१० रुपैयाँसम्म पाउन थालेका छन् ।

कमेन्ट गर्नुहोस्