नेकपा बहुमतका संयोजक बास्तोलालाई प्रहरीले ६ घण्टापछि छाड्यो

काठमाडौं । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङले बास्तोला नियन्त्रणबाट मुक्त भएको जनाएको छ ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको इप्रका भालुबाङले जनाएको छ ।

बास्तोला पक्राउ परेलगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै चुनाव बहिस्कार गर्ने नीति नभएको जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्