लमजुङमा पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परे एमाले वडाध्यक्ष उम्मेदवार

लमजुङ । लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई पैसा बाँड्दै गरेको अवस्थामा स्थानीयले रङ्गेहात पक्राउ गरेका छन् । लमजुङको बेसीशहर नगरपालिका ११ रामचोक बेसीको वस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय शिव सेढाईको समुहले जोशीलाई बुधबार राती साढे १० बजेको समयमा फेला पारेको हो ।

उम्मेदवारले मतदातालाई लुकिछिपी पैसा दिएर अथवा अन्य प्रलोभनमा पारेर भोट मागेको थाहा पाएपछि जोशीको साथबाट एक लाख ३५ हजार नगद पैसासहितको झोला, मोटरसाइकलको साँचो, पैसा बाडेको नामवली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा राखिएको स्थानीयले बताएका छन् ।

२७ गते राती १२ बजेदेखि स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको जान्दाजान्दै जोशीले पैसा बाँड्दै भोट माग्दै गरेको अवस्थामा स्थानीयले फेला पारेका हुन् । घटनाको अनुसन्धानका लागि प्रहरीलाई बुधबार राती नै घटनास्थलमा खटाइएकाले यस विषय प्रमाणित भए कानुन अनुसार कारबाही हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्