काठमाडौं – गठबन्धनबाट काठमाडौं उपमहानगरको मेयर पदकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरलाई घरजस्तै मायागरि सम्हाल्ने बताएकी छन्।
मतदानपछि प्रतिक्रिया दिँदै सिंहले आफू घर सम्हालेर आएको महिला भएका कारण पनि महानगरलाई एक घरजस्तै गरी सम्हाल्ने बताइन्।
उनले भनिन्, ‘म घर सम्हालेर आएको मान्छे हो, काठमाडौंलाई घरजस्तै गरी स्याहार्छु।’ सिंहले यो जित आफ्नो नभएर सम्पूर्ण काठमाडौंवासी र विषेशगरी महिला दिदीबहिनीको जित हुने बताइन्।
सिंहले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताइन्। साथै उनले सम्पूर्ण मतदातालाई एकपटक आफूलाई काठमाडौंको सेवा गर्ने मौका दिन पनि आग्रह गरिन्।
‘काठमाडौं बनाउन आएकी छु, सेवा गर्ने अवसर दिनुहोला। म ठूलो सपना बाँड्न आएको होइन, गर्न सक्ने कुरामात्र भन्छु। काठमाडौंलाई काठमाडौंजस्तै बनाउने मेरो इच्छा छ’, उनले भनिन्।