लुटिएको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याए

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–२, भेडीयाही गाउँको मतदान केन्द्रमा स्थानियले लुटेर लगेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन् ।

मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेर लगेका थिए । फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीबीचबाटै मतपेटिका लुटिएको हो । घटनापछि प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार भेडियाही मतदान केन्द्रमा ३० प्रतिशतमात्र मतदान भएको थियो । ‘स्थानियले लुटेर लगेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन्,’ उनले भने,‘सुरक्षा व्यवस्था फितलो होइन । बल प्रयोग गर्नुअघि विवाद मिलाउन छलफल गर्ने भन्दै गर्दा केही व्यक्ति आएर मतपेटिका उठाएर लगे ।’

बिहान उत्साहपूर्वक त्यस मतदानकेन्द्रमा मतदाताहरु लाइन बसेर मतदान गरेका थिए । दिउँसो समान्य विवाद भएपछि सुरक्षाघेराबाट मतपेटिका लुटिएको हो । तर लुटिएको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्