अधिकांश महानगर र उपमहानगरको मतगणना आज बिहानदेखि

काठमाडौं – शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहानदेखि सुरु हुने भएको छ। काठमाडौं, ललितपुर र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ।

ललितपुर महानगरपालिकामा बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय भएको हो। महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको निर्वाचन आयोगले जनाएको छ।

उता विराटनगरमा पनि बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ। सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो। हेटौंडा र धनगढी उपमहानगरमा पनि बिहान ७ बजेपछि मतगणना हुने भएको छ।

बुटवल उपमहानगरपालिकामा भने गएराति १२ बजेदेखि भएको मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

कमेन्ट गर्नुहोस्