माओवादी केन्द्रले जित्यो दैलेखमा गाउँपालिका अध्यक्ष

दैलेख । २०७४ को स्थानीय निर्वाचनमा दैलेख जिल्लामै एउटा मात्रै वडा सदस्य जितेको नेकपा (माओवादी केन्द्र)ले यसपालि गाउँपालिका अध्यक्ष नै जितेको छ।

दैलेखको नौमुलेमा नेकपा एकीकृत समाजवादीसँग मिलेर माओवादीले अध्यक्ष जितेको हो।

माओवादी केन्द्रका छविराम सुवेदीले अध्यक्षमा जित हासिल गरेका छन्। उनले ३ हजार २ सय मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ भोट पारेका छन्।

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८३४ मत प्राप्त गरे। उनकी निकटतम् प्रतिष्पर्धी अमृता सिंहले २४०५ भोट पाएकी छन्।

२०७४ मा नौमुलेमा अध्यक्ष र उपाध्यक्ष दुबै नेपाली काग्रेसले जितेको थियो। कांग्रेसका बहालवाला अध्यक्ष र उपाध्यक्षलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले हराएको हो।

यसअघिको निर्वाचनमा नेकपा मओवादी केन्द्रले नौमुले गाउँपालिकाको वडा नं ३ मा वडा सदस्य मात्रै जितेको थियो। जिल्लाभरिमा यमबहादुर कठायतले मात्रै वडा सदस्य जितेका थिए।

आफू पार्टीको नेतृत्वमा आएपछि संगठनलाई सुधारेको नेकपा माओवादी केन्द्रका दैलेख जिल्ला सचिव प्रेम कटुवालले सेतोपाटीलाई बताए।

पार्टीले उठाएका एजेन्डालाई जनतामा बुझाउन सफल हुँदै गएको उनको दाबी छ।

२०६४ को संविधान सभामा देशका अधिकांश भागमा माओवादीले जित्दासमेत दैलेखमा जित्न सकेको थिएन।

२०७४ को संघीय निर्वाचनमा एमालेसँग तालमेल गरेर माओवादीका धर्म रेग्मीले प्रदेश सभा जितेका थिए। तर रेग्मी एमाले प्रवेश गरेपछि उनको पद गइसकेको छ।

कमेन्ट गर्नुहोस्