न्यूयोर्कको सुुपरमार्केटमा गोलीबारी, १० को मृत्यु

न्यूयोर्क । न्यूयोर्कको बफेलो क्षेत्रमा रहेको एउटा सुपरमार्केटमा शनिवार भएको गोलीबारीमा १० जनाको मृत्यु भएकोछ ।

घटनामा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकहरुमा एकजना सेक्युरिटी गार्ड समेत रहेको सिएनएनले जनाएको छ ।

समाचार अनुसार, शनिवार दिउँसो (नेपाली समय राती १२ बजेतिर अश्वेत बहुल क्षेत्रमा हमला भएको थियो । गोलीको निशाना बनाइएका १३ जनामा ११ जना अश्वेत मूलका रहेका छन् ।

प्रहरीले घटनाको जातीय कोणबाट अनुसन्धान सुरु गरेको छ । हमलापछि आरोपीलाई गिरफ्तार गरिएको छ । व्हाइट हाउसका प्रेस सचिव जिन पियरेले घटनाबारे राष्ट्रपतिलाई जानकारी गराएको र आवश्यक जाँचको आदेश दिइएको बताएका छन् ।

बफेलो प्रहरीका अनुसार टप्स सुपरमार्केटको ग्रोसरी स्टोरमा एकजना व्यक्तिले हमला गर्दै त्यसको लाइभ प्रसारण समेत गरेको थियो । हमलाकारीको पहिचान १८ वर्षीय पेटन एस गेन्ड्रोनका रुपमा गरिएको छ । उसले हमलाको बेला बुलेटप्रुफ ज्याकेट लगाएको र हेलमेटमा लागेको क्यामेराबाट लाइभ प्रसारण गरेको थियो ।

कमेन्ट गर्नुहोस्