भरतपुरमा रोकिएको मतगणना फेरि सुरु

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरु भएको छ। स्वस्तिक छापको मसीको विषयमा विवाद उत्पन्न हुँदा रोकिएको मतगणना फेरि सुरु भएको हो।

वडा नम्बर २ को गणना जारी रहँदा सूर्य (एमालेको चुनाव चिह्न)मा संकेत गरिएको स्वस्तिक चिह्नमा बढी मसी लागेको भन्दै मत बदर गरिएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो। नेकपा एमालेका प्रतिनिधिहरुले मतगणनास्थल छाडेर हिँडेका थिए।

बढी मत लागेको मतको विषयमा सहमति जुटाइएपछि पुन: मतगणना सुरु गरिएको जनाइएको छ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल मेयरकी उम्मेदवार छन्। नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल मेयरका लागि प्रतिस्पर्धामा छन्।

मतगणना स्थगित हुनु अगाडिसम्म माओवादी केन्द्रकी रेणुले १८६७ र एमालेका सुवेदीले १८१४ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार पौडेलले ६०१ मत प्राप्त गरेका छन्।

यसअघि २०७४ सालको निर्वाचनमा पनि भरतपुरमा मतगणनाको क्रममा विवाद भएको थियो। जसक्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र चपाएका थिए।

कमेन्ट गर्नुहोस्