बाबुराम भट्टराईविनै गोर्खामा माओवादीको ‘कमब्याक’

काठमाडौँ । जनयुद्धको प्रभावक्षेत्र मानिने गोर्खामा डा. बाबुराम भट्टराई तत्कालिन एमाओवादीबाट अलग भएपछि ओरालो लाग्न थालेको माओवादी केन्द्रले दोस्रो स्थानीय तह निर्वाचनसँगै जिल्लामा गजबसँग ‘कमब्याक’ गरेको छ।

गोर्खाका ११ पालिकामध्ये चुननुब्री गाउँपालिका बाहेक सबै पालिकाको मतगणना सुरु भइसकेको छ। यसमध्ये ८ पालिकाको मतगणना परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएका ८ मध्ये ७ पालिकामा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्।

मतगणना सुरु नभएको चुननुब्री गाउँपालिकाबाहेक सदरमुकाम रहेको गोर्खा नगरपालिका, डा। बाबुराम भट्टराईको गृहनगर पालुङ्गटार नगरपालिका र सिरानचोक गाउँपालिकाको गणनाको अन्तिम परिणाम आउन बाँकी छ।

तर, गणना बाँकी रहेका तीन पालिका मध्ये २ गोर्खा र पालुङटार नगरपालिकामा पनि माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अग्रस्थानमा छन्। सिरानचोक गाउँपालिकामा भने कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्।

डा। भट्टराईले माओवादी परित्याग गर्नुअघि २०७० को निर्वाचनसम्म गोर्खामा माओवादी विजयी बन्ने गरेको थियो। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा २०७४ र २०७० को निर्वाचनमा माओवादी उम्मेदवार विजयी भएका थिए।

तर २०७२ असोजमा डा। भट्टराईले माओवादी परित्याग गरेपछिका निर्वाचनहरुमा माओवादी केन्द्रले पहिलेका नतिजा दोहोर्याउन सकेन। डा। भट्टराईको बहिर्गमनपछिको २०७४ मा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र जिल्लाका ११ मध्ये ३ पालिकामा सीमित हुन पुग्यो।

सदरमुकाम रहेको गोर्खा नगरपालिका, आरुघाट गाउँपालिका आदिमा उसको स्थिति निकै नाजुक थियो।

बरु, बहुदलीय व्यवस्थाकालका गोर्खामा कांग्रेसको जुन विरासत थियो, २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ‘कम ब्याक’ गर्यो। जिल्लाका ११ मध्ये ७ पालिकामा उसले विजयको झण्डा फहरायो। सदरमुकाम गोर्खा र पालुङटार गरी जिल्लाका दुवै नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार विजयी भए।

एमालेले चाहिँ सिरानचोक गाउँपालिकामा मात्र विजय हासिल गरेको थियो।

२०७४ को स्थानीय तह निर्वाचनमात्र होइन, २०७४ को आम निर्वाचनमा पनि माओवादी केन्द्रको स्थिति सन्तोषजनक रहेन। वामगठबन्धनका कारण गोर्खा–१ मा माओवादी केन्द्रका हरिराज अधिकारी संसदमा निर्वाचित त भए।

तर, गोर्खा–२ मा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिका अध्यक्ष डा‍। बाबुराम भट्टराईसँग भारी मतान्तरले पराजित हुनुपर्यो। कांग्रेसको साथ पाएका डा। भट्टराईलाई माथ गर्न माओवादी बरिष्ठ नेता श्रेष्ठलाई एमालेको साथसमेत कामयावी भएन।

तर, ३० बैशाखमा भएको स्थानीय तह निर्वाचन परिणामले भट्टराईको उपस्थितिविनै गोर्खामा माओवादी पुरानै लयमा फर्केको संकेत दिएको छ। २०७४ मा विजय हासिल गरेका गाउँपालिका सुरक्षित राख्दै उसले जिल्लाका ९ मध्ये ७ गाउँपालिकामा उसको विजय र दुइवटै नगरपालिकामा उसको अग्रता यसको संकेत हो।

२०७४ मा कांग्रेसले विजय हासिल गरेको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका दीपक देवकोटा अध्यक्ष र अनिता भुजेल उपाध्यक्ष निर्वाचन भइसकेका छन्। दुबै पदमा यहाँ कांग्रेस उम्मेदवार निकटतम प्रतिद्वन्द्वी छन्।

२०७४ मा कांग्रेसले विजय हासिल गरेको धार्चेमा पनि माओवादी केन्द्रका लक्ष्मण गुरुङ अध्यक्षमा र उपाध्यक्षमा सुनिता गुरुङ निकै ठूलो मतान्तरसहित विजयी भएका छन्। अध्यक्षमा विजयी गुरुङले ३ हजार ७ सय ७१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सन्तबहादुर गुरुङ्गले १ हजार ९ सय ४६ मत प्राप्त गरेका छन्।

पहिले आफूले विजय हासिल गरेको बारपाक–सुलिकोट गाउँपालिका पनि माओवादी केन्द्रले सुरक्षित गरेको छ। माओवादी केन्द्रका विष्णुप्रसाद भट्ट यहाँ ५ हजार ७ सय १९ मत सहित अध्यक्षमा र सनमायाँ गुरुङ ५ हजार ७ सय ६५ मतसहित विजयी भएका छन्। अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतबहादुर घलेले यहाँ ४ हजार ८ सय ६४ मत प्राप्त गरेका छन्।

भीमसेन थापा गाउँपालिका पनि माओवादी केन्द्रले कांग्रेसबाट खोस्न सफल भएको छ। माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा ५ हजार ६ सय ५१ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोशन गुरुङ्गले १ हजार ६ सय ७६ मत प्राप्त गरेका छन्।

यो गाउँपालिकाको उपप्रमुख पद भने नेपाली कांग्रेसले सुरक्षित राखेको छ। कांग्रेस उम्मेदवार अमृतादेवी वस्ती ९भट्ट० ५ हजार १ सय ४७ मतसहित विजयी हुँदा पराजित माओवादी केन्द्रकी उम्मेदवार जुनुमायाँ श्रेष्ठले ४ हजार ९ सय २७ मतमात्र प्राप्त गरेकी छन्।

२०७४ मा विजय हासिल गरेको शहीद लखन गाउँपालिका पनि माओवादी केन्द्रले सुरक्षित गरेको छ। माओवादी केन्द्रका रमेशबाबु थापामगरले ५ हजार ४ सय ७४ मत प्राप्त गरी विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसबाट अध्यक्षका उम्मेदवार नारायणप्रसाद लामिछानेले ४ हजार ४ सय ३२ मत प्राप्त गरेका छन्।

२०७४ मा एमालेले विजय हासिल गरेको सिरानचोक गाउँपालिकामा भने यसपटक कांग्रेसबाट अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र फुरुङ ठूलो मतान्तरका साथ अग्रस्थानमा छन्। गुरुङले ३ हजार ४६ मतका साथ अग्रता हासिल गर्दा माओवादी केन्द्रका नवराज पुडासैनीले १ हजार ६ सय २८ र एमाले उम्मेदवार देवराज श्रेष्ठले ६ सय मतका साथ पछ्याइरहेका छन्।

उपाध्यक्षमा कांग्रेस उम्मेदवार रिता देवकोटा माओवादी केन्द्रकी पूर्णकुमारी ढकाल भन्दा १ हजार मतले अग्रस्थानमा छिन्।

आरुघाट गाउँपालिका भने कांग्रेसले सुरक्षित गरेको छ। ५ हजार ५ सय ५६ मत प्राप्त गरी कांग्रेसका राजु गुरुङ अध्यक्ष र ५ हजार ६ सय २१ मत प्राप्त गरी कांग्रेसकै कल्पना नेपाली उपाध्यक्ष निर्वाचित भएकी छन्। यहाँ एमाले उम्मेदवार निकटतम प्रतिद्वन्द्वीका रुपमा छन्।

२०७४ मा पनि विजय हासिल गरेको गण्डकी गाउँपालिका यसपटक ठूलो मतान्तरका माओवादी केन्द्रका अध्यक्ष–उपाध्यक्षका उम्मेदवार अग्रस्थानमा छन्। अध्यक्षमा माओवादी केन्द्रका दीपक तिमिल्सिनाले ६ हजार ३ सय २६ मत प्राप्त गर्दा कांग्रेसका होमबहादुर रानामगरले यहाँ ४ हजार ६ सय ५५ मतसहित तिमिल्सिनालाई पछ्याइरहेका छन्।

गणना गर्न बाँकी रहेका गोर्खा नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार कृष्णबहादुर रानाले निवर्तमान मेयरसमेत रहेका कांग्रेस उम्मेदवार राजनराज पन्तलाई फराकिलो मतान्तरले पछि पारेका छन्। भट्टराई नेतृत्वको जसपासँगको तालमेलका कारण माओवादी केन्द्रले यहाँ फराकिलो मतान्तर बनाएको हो।

माओवादी केन्द्रका रानाले ६ हजार ७ सय ७० मतसहित अग्रता हासिल गरिरहँदा कांग्रेसका पन्तले ५ हजार २ सय २० र एमाले उम्मेदवार सम्झना देवकोटाले ४ हजार १ सय ८९ मत प्राप्त गरेकी छन्।

यो नगरपालिकामा उपमेयरमा भने कांग्रेस उम्मेदवार मसलीमायाँ थोकर पुनले अग्रता लिइरहेकी छन्। ५ हजार ४ सय ७८ मत प्राप्त गरेकी उनलाई जसपाका नारायण खत्रीले ४ हजार ८ सय ४९ र एमालेका देवीबहादुर बस्नेतले ४ हजार २ सय ७० मत सहित पछ्याइरहेका छन्।

मतगणना जारी रहेको भट्टराईको गृहनगर पालुङ्गटारमा भने माओवादी केन्द्र र नेपाली कांग्रेस एक्लाएक्लै प्रतिस्पर्धामा छन्। जसपाले यहाँ एमालेसँग गठबन्धन गरेको छ। यो नगरपालिकामा २०७४ मा कांग्रेसका दीपकबाबु कँडेल मेयरमा र माओवादी केन्द्रकी पम्फा बसेल उपमेयरमा विजयी भएका थिए।

नेपाली कांग्रेस र माओवादी केन्द्र दुबैले यहाँ पुरानै उम्मेदवार दोहोर्याएका छन्। जारी मतगणनामा यहाँ माओवादी केन्द्रका विवश चिन्तनले अग्रता लिएका छन्। उनलाई जसपाका प्रेमबहादुर गुरुङ्गले पछ्याइरहेका छन्। कांग्रेसका उम्मेदवार कँडेल यहाँ तेस्रो स्थानमा छन्।

माओवादी केन्द्रका चिन्तन यहाँ ४ हजार ३ सय ३५ मत सहित पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा रहेका जसपाका गुरुङ्गले ३ हजार ७ सय ५० मत प्राप्त गरेका छन्। निवर्तमान मेयर समेत रहेका कांग्रेस उम्मेदवार चिन्तन यहाँ ३ हजार ३ सय ६५ मतसहित तेस्रो स्थानमा छन्।

पालुङ्गटारमा अहिलेसम्म १, २, ३, ४, ८, ९ र १० को मतगणना सम्पन्न भएको छ। गणना गर्न बाँकी वडामध्ये २०७४ को स्थानीय तह निर्वाचनमा वडा नं ५ मा नयाँशक्ति ९हाल जसपा०, ६ मा माओवादी केन्द्र र ७ नं मा एमाले विजयी भएका थिए।

पालुङ्टारमा अहिले जसपा र एमालेबीच गठबन्धन भएकाले अन्तिम परिणाम कसको पक्षमा जान्छ, भन्न सकिने स्थिति छैन। तर, जिल्लाका ११ मध्ये ७ पालिकामा विजय हासिल गरिसकेकाले अन्तिम निर्वाचन परिणाम आउनुअघि नै माओवादी केन्द्रले जिल्लाको पहिलो ठूलो दलको रुपमा ‘कम ब्याक’ गरिसकेको छ।

कमेन्ट गर्नुहोस्