स्थानीय निर्वाचनबारे तिमिल्सिनाका ३० टिप्स्

काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा निर्वाचन अभियानमा खटिएका युवा नेता मनहरि तिमिल्सिनाले स्थानीय निर्वाचनका अनुभव र शिक्षाहरू भन्दै सामाजिक संजालमा ३० बुँदा सार्वजनिक गरेका छन् ।

यस्ता छन् तिमिल्सिनाका ३० टिप्स्

१. निर्वाचन जित्न बलियो संगठन चाहिन्छ, आफ्नै तागतमा उभिएर मात्र निर्वाचन जित्न सकिन्छ।
२. मतदाता ठूला कुरा र उपलब्धीभन्दा आफ्नो जीवनमा प्रत्यक्ष लाभ मिल्ने मुद्दामा आकर्षित हुन्छन्।
३. गठबन्धनले संगठित कार्यकर्तालाई निर्देशित गर्न सक्छ। तर, नरम र तटस्थ मतदातालाई सक्दैन।
४. निर्वाचन समीकरणमा मतदाताले परिस्थितिजन्य एकताभन्दा मनोवैज्ञानिक एकता चाहन्छन्।
५. समीकरण सजातीय हुनुपर्छ। मतदाताले समीकरणको औचित्य अन्तर्मनदेखि वोध गर्न सक्नुपर्छ।
६. मतदाताले दलको घोषणापत्र कम हेर्छन्, दलको तागत र उम्मेदवारको छवि बढी हेर्छन्।
७. परम्परागत मुद्दा मतदाताले रूचाउँदैनन्। नयाँपन र विश्वासिलो आधार खोज्छन्।
८. निर्वाचनको बखत मात्र मतदाताबिच पुग्ने तरिकाले अपेक्षित परिणाम निकाल्न सकिँदैन।
९ मतदाताले पाँच वर्षको दौरानमा पार्टी र नेताहरूले आफूहरूप्रति गरेको स–साना व्यवहारको पनि हिसाब राख्छन्।
१०. दल र नेता चुनाव आएपछि गाउँ जाने र मतदाता पासो ढुकेर बस्ने प्रवृत्ति लोकतन्त्रका निम्ति घातक छ।
११. सिद्धान्त र निष्ठा कमजोर हुँदा अन्तर्घात प्रभावी रहन्छ। पार्टीहरूमा आत्मानुशासन कमजोर छ।
१२. उम्मेदवार छनोट गर्दा लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नुपर्छ। त्यसले मात्र निर्वाचनमा एकीकृत तागत पैदा गर्छ।
१३. पार्टीले टिकट दिँदा अर्कोपटक टिकट नपाए पनि पार्टीको उम्मेदवार जिताउन लाग्नेछु भन्ने सहीछाप गराउन आवश्यक देखिन्छ।
१४. पार्टीभित्र सबै नेता–कार्यकर्ताले भविष्य देख्ने नीति–कार्यक्रम चाहिन्छ। आफूले टिकट नपाए ‘भर्सेला परोस्’ भन्ने प्रवृत्ति घातक छ।
१५. मतदाताले बलशाली होइन, आफ्नो सुखदुखमा साथ दिने जनप्रतिनिधि खोज्छन्, लाभको हिसाबकिताब गर्छन्।
१६. स्थानीय निर्वाचनमा भौगोलिक अवस्थिति, उम्मेदवारको सम्बन्धले पनि जीतहारमा विशेष अर्थ राख्दछ।
१७. स्थानीय तहमा निर्वाचन आचारसंहिता अनुगमन र कार्यान्वयन गर्ने शक्तिशाली संयन्त्र चाहिन्छ।
१८.हाम्रो मतदाता शिक्षा कमजोर छ। निर्वाचन प्रणाली र व्यवस्थापनबारे पुनर्विचार गर्नुपर्छ।
१९. जेष्ठ नागरिक र अशक्त मतदातालाई मतदान केन्द्रसम्म ल्याउने व्यवस्था निर्वाचन आयोगले गर्नुपर्छ।
२०. मतदान केन्द्रको व्यवस्थापनबारे आयोगले नयाँ ढंगले सोच्नुपर्छ। घण्टौं उभिएर मतदान गर्ने प्रणाली फेर्नुपर्छ।
२१. आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारीको २४ घण्टामा उम्मेदवार रद्द हुने कानुनी व्यवस्था चाहिन्छ।
२२. उत्पीडित वर्ग र समुदायलाई आज होइन, भोलिका लागि आशातीत हुनसक्ने शिक्षा र योजना चाहिन्छ।
२३. दलहरूले पार्टी झण्डाभन्दा चुनावी चिन्हलाई नै स्थापित गराउन बढी जोड गर्नुपर्ने देखिन्छ।
२४. विभाजनले नेता–कार्यकर्ताभन्दा मतदाताको मनोविज्ञानमा बढी असर गर्छ। फुटमा संख्याको नभएर मनोविज्ञानको प्रभाव रहन्छ।
२५. उम्मेदवारमा स्थानीय तहको इतिहास, सभ्यता, विशेषता, मनोविज्ञान र सम्भावनाको राम्रो अध्ययन चाहिन्छ।
२६. पार्टीहरूले नेता–कार्यकर्ताको आवधिक कार्यसम्पादन मूल्यांकनको व्यवस्था गरेर नेता जनतातिर फर्काउनुपर्छ।
२७. अधिंकाश निर्वाचित जनप्रतिनिधिहरू आफ्नो कर्तव्य र अधिकारबारे सुसूचित छैनन्। पार्टीहरूले अभिमुखीकरण गर्नुपर्छ।
२८. जनताले सरल र वैज्ञानिक सेवा प्रवाह, सुशासन र जीवनमा आधारभूत परिवर्तन खोजेका छन्। दलहरूले त्यतातर्फ प्राथमिकता दिनुपर्छ।
२९. घोषणापत्रमा ठूलठूला कुरा लेख्ने तर जितेपछि कार्यान्वयन नगर्ने पार्टी र जनप्रतिनिधिलाई नियन्त्रण गर्ने कानुन चाहिन्छ।
३०. पराजित उम्मेदवारले आफूले प्राप्त जनमतको सम्मान गर्दै क्रियाशील भइरहे अर्को निर्वाचनमा जीत उसैको हुन्छ।

कमेन्ट गर्नुहोस्