नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए । ‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ गृहमन्त्री खाणले भने ।

प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ । यसबारे गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन्।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको हो । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष प्रंचण्डसँग भेटघाट गरेका हुन्।

कमेन्ट गर्नुहोस्