निर्वाचनमा कानुन विपरित कार्य गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको क्रममा कानुन विपरितका गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचनको क्रममा देशका विभिन्न मतदान केन्द्रहरूमा भएका कानुन विपरीत गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो ।

आयोगले त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालयमार्फत ७७ जिल्लाका सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिने निर्णय गरेको छ ।

आयोगले वैशाख ३० गते देशभरका ७ सय ५३ पालिकाहरुमध्ये दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ र कपिलवस्तु जिल्ला महाराजगञ्ज नगरपालिका बाहेक देशभरका सम्पूर्ण मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको पनि बताएको छ ।

आयोगले गत वैशाख ३० मा स्थगन भएका स्थानमध्ये ५ स्थानमा २०७९ जेठ १ गते, ७ स्थानमा जेठ २ गते, ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान कार्य सम्पन्न भइसकेको जनाएको छ ।

अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको छ भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्