बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेय

बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेय र उपप्रमुखमा एमालेकी सावित्रा अर्याल विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेयले ३० हजार १ सय ३० मत पाएर विजयी भएका छन् भने उपप्रमुखमा एमालेकी सावित्रा अर्याल २४ हजार ९ सय ४ मतका साथ विजयी भएकी हुन्।

नगर प्रमुखमा पराजित हुने एमालेका बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ र उपप्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १६ हजार ९ सय ८० मत प्राप्त गरेका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ४ हजार २ सय ९७ र उपप्रमुखका उम्मेदवार भगवती पाण्डेयले ६ हजार ५ सय २९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार कुल ९० हजार ६५ मतदाता रहेको बुटवलमा ६२ हजार ९ सय ७५ अर्थात् जम्मा ६९ दशमलव ९२ प्रतिशत मत खसेको थियो। १९ वटा वडा रहेको बुटवलमा ५ वटा वडामा एमाले विजयी हुंदा १३ वटा वडामा गठबन्धन विजयी भएको छ।

त्यस्तै वडा नं.१ मा भने स्वतन्त्रका उम्मेदवारले जित हात पारेका छन्।

२०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएर नगरप्रमुख बनेका थिए।

अघिल्लो निर्वाचनमा पनि प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डेयले २ हजार ३ सय ९८ मतले पराजित हुँदै २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमुक्तिको गठबन्धन रहेको अघिल्लो निर्वाचनमा पनि उपप्रमुखमा एमालेकी गोमादेवी आचार्यले माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई पराजित गरेकी थिइन्।

आचार्यले २५ हजार ३ सय १ मत ल्याएर विजयी हुँदा पोखरेलले १४ हजार ७ सय ९२ मत ल्याएका थिए।

कमेन्ट गर्नुहोस्