अष्ट्रेलियाको आम निर्वाचनमा विपक्षी लेबर पार्टी विजयी,एन्थोनी अल्बानिज नयाँ प्रधानमन्त्री बन्ने

काठमाडौं। अष्ट्रेलियामा हालै सम्पन्न आम निर्वाचनमा विपक्षी दल लेबर पार्टी विजयी भएको छ। लेबर पार्टीको यो जितसँगै एन्थोनी अल्बानिज नयाँ प्रधानमन्त्री बन्नेछन्। चुनावी परिणाम अनुसार लेबरले ९ वर्षपछि पुनः सरकार बनाउने अवसर पाएको छ।

शनिबार सम्पन्न चुनावमा करिब १ करोड ७० लाख जनताले मतदान गरेका थिए। जसमध्ये ४ लाख ५० हजार नयाँ मतदाता समावेश भएका थिए। जसमा लेबर पार्टीले ७२ सिटमा जित हासिल गरेको छ।

अष्ट्रेलियामा सरकार गठनका लागि कुनै पनि दललाई तल्लो सदनमा ७६ सिट र माथिल्लो सदनमा ४० सिट आवश्यक पर्छ। निर्वाचनले ३ वर्षका लागि नेतृत्व छनोट गरेको हो। अष्ट्रेलियाको ६ राज्य तथा २ टेरीटोरीबाट तल्लो सदनका लागि १ सय ५१ निर्वाचन क्षेत्र र माथिल्लो सदन सिनेटका लागि ७६ सिटमा मतदान भएको थियो।

वर्तमान प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार्दै नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएका अल्बानिजलाई बधाई दिएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्ना समर्थकहरू माझ सम्बोधन गर्दै मरिसनले पदबाट राजीनामा समेत घोषणा गरेका छन्।

आफ्नो पार्टीले जित हासिल गरेपछि अल्बानिजले अष्ट्रेलियालाई एकताको सुत्रमा बाँध्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले भ्रष्टाचारबिरुद्ध राष्ट्रिय आयोग गठन गर्ने र महिला तथा जनजातिको अधिकार सुनिश्चित गर्ने बचन दिएका छन्।

कमेन्ट गर्नुहोस्