स्थानीय निर्वाचनमा १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं। अहिलेको स्थानीय निर्वाचनमा देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका छन्। हामिले यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ । हालसम्म घोषणा भएको आधिकारिक विवरण अनुसार १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी भएका छन् ।

प्रदेश १ मा दुई पालिका अध्यक्षमा स्वतन्त्र विजयी

प्रदेश १ अन्तर्गत भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दाँथल कुमार कुलुङ राई विजयी भएका छन् । उनले एक हजार ८१४ मत प्राप्त गरे। राईको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको महेश राईले एक हजार ७८६ मत ल्याए ।

यसैगरी, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली फराकिलो मतान्तरले विजयी भए। रुम्दालीले पाँच हजार २१ मत ल्याउनुभयो भने उनको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का रुप लाल तामाङले तीन हजार ८१६ मत ल्याए ।

यस प्रदेशको दुई जिल्ला अन्तर्गत दुई गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्वार विजयी भए ।

मधेश प्रदेशमा एक नगरप्रमुख र उपप्रमुख दुवैमा स्वतन्त्र विजयी

महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार प्रहलाद कुमार क्षेत्री विजयी भएका छन् । उनले १४ हजार २१० मत ल्याए । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले आठ हजार ३२३ मत ल्याए ।

बर्दिबास नगरउपप्रमुखमा पनि स्वतन्त्र उम्मेद्वार तारा देवी विजयी भएका छन् । उनले नौ हजार ७३६ मत ल्याए । देवीले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण माया गौतमले आठ हजार १८५ मत ल्याए।

गण्डकी प्रदेशमा एक गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र विजयी

मनाङ्गको मनाङ ङिस्याङ गाँउपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित विजयी भएका छन् । गुरुङको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याए।

कर्णाली प्रदेशमा दुई नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार

जुम्लाको चन्दननाथ नगरपालिका प्रमुुखमा स्वतन्त्र उम्मेद्वार राजु सिंह कठायत दुई हजार ४०३ मतसहित विजयी भए ।

यसैगरी, कालिकोटको खाँडचक्र नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार कमल बहादुर शाही दुई हजार ९१९ मतसहित विजयी भए । उनको निकटतम प्रतिद्वन्दी कांग्रेसका पदमबहादुर शाहीले दुई हजार ३४१ मत प्राप्त गरे ।

यसैगरी, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा कार्मा छोइवेल गुरुङ, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा मोहनबहादुर केसी र हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा प्यारी लाल शाही विजयी भएका छन्। उनीहरु तीनै जना स्वतन्त्र उम्मेदवार हुन् ।

यसैगरी, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेम्मा वाङछेन गुरुङ विजयी भए ।

सुदूरपश्चिम प्रदेशमा एक गाउँपालिका अध्यक्ष र एक नगरउपप्रमुखमा स्वतन्त्र

बाजुराको बुढीनन्दा नगरउपप्रमुखमा स्वतन्त्र उम्मेद्वार रामबहादुर बोहरा विजयी भए। बोहोराले चार हजार ७७ र उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिता देवी सिंहले तीन हजार ६७७ मत प्राप्त गरे ।

यसैगरी, बैतडीको डीलासैनी गाउँपालिका अध्यक्षमा सन्तोष प्रकाश जोशी तीन हजार १८९ मतसहित विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्