अब ६५ वर्षमै वृद्धभत्ता, कर्मचारीको तलब ३० प्रतिशतसम्म बढ्ने

काठमाडौं । यतिबेला सरकार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको अन्तिम तयारीमा जुटेको छ । जेठ ७ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र १५ गते वार्षिक बजेट ल्याउने गरी गृहकार्य शुरु गरिएको छ ।

साउन १ गतेदेखि नै बजेट कार्यान्वयन गर्ने गरी जेठ १५ गते बजेट ल्याउन थालेको सातौँ वर्षमा चल्दै छ । अर्थमन्त्री जनार्दन शर्माले यहि जेठ ३ गते संसदमा बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसकेका छन् ।

यसैबीच आगामी आवको बजेटमा वृद्धभत्ता पाउने उमेर पनि ७० वर्षबाट घटाएर ६५ वर्षमा झार्ने तयारी छ । यो विषय प्रधानमन्त्री शेरबहादुर देउवाले नै बोलिसकेका छन् । यद्यपी, बजेट लेखनमा सामेल अर्थका अधिकारीले यो निर्देशन भने नआईसकेको बताएका छन् । जेठ १४ गते बजेटको अन्तिम रुपसहित अर्थमन्त्रीले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग गर्ने छलफलले त्यहीँ दिन वृद्धभत्ता कति पुर्याउने र कति उमेर कायम गर्ने भन्ने कुरा टुंगो लगाउने स्रोतले बताएको छ ।
त्यस्तै, कर्मचारीको तलब पनि यस पटक बढ्ने छ । निजामति कर्मचारीको तलब, महँगी भत्ता, पोशाक भत्ता, सवारी भत्ता (यातायात खर्च) बढाउने तयारी अर्थले गरेको छ । चालु वर्षको बजेटमा सबै कर्मचारीको तलब एकरुपताका आधारमा बढाईएको भएपनि आगामी आर्थिक वर्षको बजेटमा प्रतिशतका आधारमा तलब बढाउने तयारी छ ।

तल्लो तहको कर्मचारीको तलब ३० प्रतिशत र उच्च तहको कर्मचारीको तलब २० प्रतिशतले बढाउने तयारी छ । मुख्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिवसहित अर्थसचिवले यसको अन्तिम रुप दिनेछन् ।

कमेन्ट गर्नुहोस्