कर्मचारीको तलब बढाउने तयारी

काठमाडौं। सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी गरिहेको छ । यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो । मन्त्रालयका अनुसार दुई हजार रुपियाँ नघट्ने गरी तलब बढाउने तयारी छ ।

निजामती कर्मचारी सम्बद्ध ट्रेड युनियनले भने अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर पाँच हजार रुपियाँसम्म तलब बढाउन आग्रह गरेको थियो। तलब बढाउने सम्बन्धमा ट्रेड युनियनको सुझावलाई स्वीकार गर्दै अर्थमन्त्रीले खर्चले धान्ने गरी तलब बढाउने प्रतिक्रिया दिएको मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले तलब बढाउनुपर्ने माग कर्मचारीको छ । भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी मङ्सिर वा त्यसपछि कुनै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि हुने हुँदा तलब बढाउने सम्बन्धित क्षेत्रका जानकार बताउँछन् ।

आगामी आर्थिक वर्षमा पनि तलब बढेमा कर्मचारीले लगातार दुई वर्ष नै बढेको तलब पाउने छन् । चालू आर्थिक वर्ष २०७८–७९ मा पनि सरकारले सबै तहका कर्मचारीको तलब दुई हजार रुपियाँले बढाएको थियो । यसअघि निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत सार्वजनिक गरेको चालू आवको बजेटमा सबै राष्ट्रसेवकको तलबमान मासिक दुई हजार रुपियाँले बढाउने उल्लेख थियो । वर्तमान सरकारले प्रतिस्थापन बजेट ल्याए पनि कर्मचारीको तलब वृद्धिलाई भने निरन्तरता नै दिएको थियो ।

त्यसअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७६–७७ को बजेटमार्फत कर्मचारीको तलब बढाउने घोषणा गरेका थिए । जसअनुसार राजपत्र अनङ्कित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्राङ्कित श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब बढेको थियो ।

सरकारले बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब बढाउने उल्लेख गरे पनि त्यसको लाभ सरकार मातहतका सबै निकाय, संस्थान, समिति र आयोगका कर्मचारीले समेत पाउने छन् । चालू आवमा मात्रै निजामती कर्मचारीका लागि पारिश्रमिकबापत एक खर्ब एक अर्ब रुपियाँ खर्च हुँदैछ । यसमा भत्ता जोडिएको छैन । यसबाहेक सरकार मातहतका अन्य निकायका कर्मचारीको तलबबापत पनि सरकारको अर्बौं रकम खर्च हुन्छ । सेना, प्रहरी, सशस्त्र प्रहरीसहित पाँच लाखभन्दा बढी कर्मचारीले सरकारी तलब भत्ता लिने गर्छन् ।

कमेन्ट गर्नुहोस्