बलात्कारका घटनामा हदम्याद खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

काठमाडौं । बलात्कार जस्ता जघन्य अपराधमा हदम्यादकै कारण अपराधीले उन्मुक्ति पाउने भन्दै अखिल क्रान्तिकारीले सरकारको ध्यानाकर्षण गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

एकजना पीडिताले आफूलाई सन् २०१४ मा सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको कुरा सार्वजनिक गरेपछि हदम्यादका कारण न्याय नपाउने बहस चलिरहेको बेला अखिल क्रान्तिकारीले सम्बन्धित कानुनमा संशोधनको माग गरेको हो ।

“जबर्जस्ती करणी जस्तो संवेदनशील जघन्य महिलाविरुद्धको अपराधमा संकुचित हदम्यषदको कारण पीडितले न्यायबाट वञ्चित हुनुपरेको र पीडकको मनोबल बृद्धि हुने अवस्था देखिँदा तुरुन्त हदम्याद खारेजीको लागि सम्बन्धित कानुन संशोधन गर्न जोडदार माग गर्दछौं ।” ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा यस्ता घटनासँग सम्बन्धित पीडित तथा परिवारमा पर्नसक्ने दबाब र प्रभावलाई समेत मध्यनजगर गर्दै पीडितको सुरक्षाको उचित व्यवस्थापनको समेत माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्