माओवादीले जनप्रतिनिधिलाई एकै ठाउँमा प्रशिक्षण दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई एकै ठाउँ राखेर प्रशिक्षण दिने भएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।

 

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित विशेषज्ञले प्रशिक्षण दिने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ ।

अघिल्लो स्थानीय तहको चुनावमा जितेका ३ दर्जनभन्दा बढि स्थानीय तह गुमाएपछि माओवादीले जनतामा प्रभावकारी काम कसरी गर्ने र आफ्नो पकड कायम राखिरहने भन्ने बारे प्रशिक्षण गर्न लागेको हो । माओवादीले यसपटकको स्थानीय तह चुनावमा नयाँ पालिकाहरु थपेपछि पुराना पालिकाहरु गुमाएको छ ।

कमेन्ट गर्नुहोस्