पाकिस्तानमा आजादी मार्चमाथि बर्बर दमन, इमरान समर्थकले मेट्रो स्टेशनमा आगो लगाए, सरकारले उतार्यो सेना

इस्लामाबाद । पाकिस्तान तेहरिक इन्साफ पार्टीले आयोजना गरेको आजादी मार्चमाथि प्रहरीले चर्को दमन गरेपछि अवस्था झनै बिग्रिएको छ ।

सरकारको बिरोध गर्दै पाकिस्तानको स्वतन्त्रताको रक्षा गर्न आजादी मार्च घोषणा गरेका उक्त पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री इमरान खानले आज इस्लामाबादको डी चौकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

आजादी मार्चलाई रोक्न पञ्जाब प्रहरीले चर्को दमन गरेको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । पाकिस्तानी पत्रिका डनले प्रहरी गुण्डागर्दीमा उत्रिएको बताएको छ ।

सरकारबाट बाहिरिएपछि निर्वाचनको माग गर्दै आन्दोलनमा रहेका इमरान खानले विदेशी हस्तक्षेपविरुद्ध आजादी मार्चको घोषणा गरेका थिए ।

रुस र चीनको समर्थन गरेको कारण अमेरिकाले आफूलाई सत्ताबाट बहिर्गमन गरेको उनले आरोप लगाउँदै आएका छन् ।

यसैबीच प्रहरीसँग झडप भएपछि खान समर्थकहरुले एउटा मेट्रो स्टेशनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरुले सरकारी भवन निशाना बनाउन सक्ने भन्दै सरकारले सेना परिचालन गरेको छ । रेड जोनमा सेना परिचालन गर्ने निर्णय गरेको सरकारले जनाएको छ ।

आजादी मार्चको जुलुस स्वाबी बालीबाट शुरु भएर श्रीनगर हाइवे हुँदै इस्लामाबादको डी चौक पुग्नेछ । हजारौं कार्यकर्ता यसअघि नै डि चौक पुगिसकेका छन् । प्रहरीले उनीहरुलाई हटाउन अश्रुग्यास प्रहार गरेको छ ।

कमेन्ट गर्नुहोस्