निजगढ विमानस्थल रोकिनुको पछाडी गलत मनसाय हुन सक्ने माधव नेपालको भनाई

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्माणाधिन निजगढ विमानस्थलको निर्माण कार्य रोक्नुको पछाडी गलत मनसाय र पक्षले काम गरेको हुनसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रको छलफलमा बोल्दै नेता नेपालले निजगढ विमानस्थल रोक्नुपर्नाको कुनै कारण नभएको बिचार व्यक्त गरे । तर, कुनै तत्व वा प्रवृत्ति लागेर रोक्ने काम गरेको हुन सक्ने उनको आशंका थियो ।

‘निजगढ विमानस्थल क्षेत्रमा पहिले घना जंगल थियो तर अहिले छैन । खुल्ला ठाउँमा विमानस्थल बनाउन लाग्दा पनि किन रोकियो ?’ नेपालले भनेका छन्, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको परियोजनामा किन रोक्ने काम गरियो ? यसमा पक्कै पनि कुनै तत्वले काम गरेको छ । यसमा सरकारले सुश्म अध्ययन गर्न आवश्यक छ ।’

बिहीबार मात्र सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गर्दै निजगढ विमानस्थलको निर्माण सम्बन्धि सम्पूर्ण प्रक्रिया तत्काल रोक्न आदेश जारी गरेको छ । सो क्षेत्रमा विमानस्थल नबनाउन तर आवश्यकता महशुस भए अनेत्र नै विकल्प खोज्न समेत सर्वोच्चले भनेको छ ।​

कमेन्ट गर्नुहोस्