‘संसद् कुण्ठा र आक्रोश व्यक्त गर्ने थलो होइन’

काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संसद् कुण्ठा र अक्रोश व्यक्त गर्ने थलो नभएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संसद् जनताको भावना अभिव्यक्त गर्ने थलो भएको बताए ।

संसद् आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको उनको टिप्पणी थियो ।

उनले भने, ‘संसद् भनेको आम जनताको भावना अभिव्यक्त गर्ने थलो हो । जनताको सार्वभौम सत्ताको उच्चतम प्रयोग आफ्ना प्रतिनिधिमार्फत अभिव्यक्त हुने गर्दछ, तर केही दिनयता संसद्मा‌ भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलको रुझान हेर्दा एकातिर कुण्ठा र आक्रोश अभिव्यक्त भइरहेको छ भने, अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रवृत्ति देखिएको छ ।’

 

उनले सांसदहरुले मिहेनतपूर्वक दिएका सुझाव बेवास्ता गर्ने परम्परा रहेको भन्दै यसपटक त्यसो नगर्न सरकारलाई सुझाव दिइन् । उनले कृषि उत्पादनलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरुको विकास हुन सक्ने भन्दै कृषि क्षेत्रमा यसअघि सुरु गरिएका तर सफल हुन नसकेका कार्यक्रमलाई खारेज गरी प्रभावकारी र चुहावटरहित नयाँ कार्यक्रम तर्जुमा गरी लागू गर्नु आवश्यक रहेको सुझाइन् ।

कमेन्ट गर्नुहोस्