ताइवानी सुरक्षा क्षेत्रमा चीनले पठायो ३० लडाकु जेट विमान, अमेरिकाद्वारा प्रतिकार गर्ने धम्की

काठमाडौं । चीनले ताइवानको रक्षा क्षेत्रमा ३० वटा लडाकु जहाज पठाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चीनको घुसपैठको बिरोध गरेको छ । विविसीले जनाए अनुसार, चीनले परिचालन गरेका विमानहरुमा अधिकांश जेटहरु युद्धमा प्रयोग गरिने रहेका छन् । ताइवानी रक्षा मन्त्रालयले आफ्ना सैनिकहरुले एयर मिसाइल सिष्टम तैनाथी गरको र २४ सै घण्टा चीनको गतिविधिमाथि निगरानी राखेको जनाएको छ ।

जनवरीमा समेत चीनले ३९ वटा फाइटर जेट विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन क्षेत्रमा पठाएको थियो ।

गत हप्तामात्रै अमेरिकाले चीनले ताइवान वरिपरि तनाव बढाइरहेको आरोप लगाएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको बयानबाजी र गतिविधिले युद्ध भडकिने खतरा रहेको बताएको थियो । साथै ताइवानमाथि चीनले आक्रमण गरेको खण्डमा त्यसको सुरक्षाका लागि अमेरिका उभिने बताएका थिए ।

ताइवानले आफूलाई स्वतन्त्र देश मान्दै आएको छ । तर चीनले भने ताइवानलाई मेनल्याण्ड चीनकै भूभाग भएको बताउँछ । ताइवानलाई अहिलेसम्म संसारका ११ वटा देशले मात्रै मान्यता दिएका छन् । अमेरिकाले ताइवानको रक्षा गर्दै आएपनि एउटा स्वतन्त्र देशको रुपमा भने मान्यता दिएको छैन ।

सन् १९४० मा कोमिन्तांगसँग चिनियाँ कम्युनिष्ट पार्टीको युद्ध चर्केपछि ताइवानको उदय भएको थियो । च्यांग काइ सेकको नेशनालिष्ट पार्टीमाथि कम्युनिष्ट पार्टीले विजय गरेपछि उनीहरु चीनकै भूभाग रहेको भएपनि ताइवान गएका थिए । त्यहाँ उनीहरुले लामोसमयदेखि शासन गर्दै आए । त्यसैले चीनले ताइवानलाई आफ्नै भूभाग मान्दै आएको छ ।

 

कमेन्ट गर्नुहोस्