जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क भएको बताएकी छन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०७९ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन आव्हान गरेकी छन् ।

सरकारले वि.स. २०६३ साल जेठ २१ गतेका दिने मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाउँदै आइएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले संविधानको जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरेको उल्लेख गनर्दै रूढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा जातीय भेदभाव र छुवाछुतरहित समतामूलक‚ सभ्य र समुन्नत राष्ट्र निर्माण गर्ने दिशातर्फ सबै अग्रसर हुनु पर्ने उल्लेख गरेकी छन् । उनले सबै जातजाति र समुदाय बीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनु आजको आवश्यकता भएको सन्देशमा उल्लेख गरेकी छन् ।

कमेन्ट गर्नुहोस्