आन्तरिक समस्या समाधान गर्दै अखिल क्रान्तिकारीलाई नम्बरको संगठन बनाउन प्रचण्डकाे निर्देश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका पूर्व पदाधिकारीसहितकाे बैठकमा विद्यार्थी संगठनका बारेमा छलफल हुने बताउँदै तत्कालका लागि भेला, प्रशिक्षण नगर्न निर्देशन दिएका छन् ।

शनिबार खुमलटार पुगेका अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित कार्यालय टीमसँगको छलफलमा अध्यक्षले संगठनभित्रको समस्यालाई समाधान गर्दै पहिलो नम्बरको संगठन बनाउन समेत निर्देशन दिए ।

“संगठन बिस्तारमा जाेड दिनुस् ।” प्रचण्डले भने, “समाजमा राजनीतिक चेतनासहितको सन्देश दिने याेजनासहित जुझारु र सशक्त संगठन निर्माणमा लाग्नुस् ।

छलफलका क्रममा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले राम्रो नतिजा ल्याएको भन्दै उनले संघ र प्रदेश निर्वाचनमा झन् राम्रो नतिजा ल्याउने गरी लाग्नुपर्नेमा जोड दिएका थिए । पछिल्लो निर्वाचनबाट युवा जनप्रतिनिधि निर्वाचित भएको र अबको निर्वाचनमा पनि युवालाई अघि बढाउने उनले प्रतिबद्धता जनाएका थिए ।

भेटघाटका अवसरमा नेता वर्षमान पुन, विद्यार्थी इन्चार्ज हितमान शाक्य र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायत सहभागी थिए । भेटमा अखिल क्रान्तिकारी भित्रको विविध विषयमा छलफल भएको उपाध्यक्ष जिपि मैनालीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्