रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारत सरकारका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री डा.मनसुख मण्डावियाले रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गरेका छन् ।

रक्सौलमा अवस्थित र भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरूको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरूले सुसज्जित आधुनिक प्रयोगशाला रहेको जनाएको छ ।

प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्ने जनाइएको छ । हाल यी नमुनाहरूको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको मा अब बिहारमा नै परीक्षण हुने भएको हो ।

लामो समयदेखि नेपाली व्यापारीहरूले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि अनुरोध गर्दै आएकोमा अहिले आएर सो पूरा भएको जनाइएको छ । यस खाद्य प्रयोगशालाको निर्माण ‘छिमेकी पहिलो’ नीतिअनुरूप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घताको अर्को प्रतिबिम्बको रूपमा रहेको उल्लेख छ ।

कमेन्ट गर्नुहोस्