न्यूयोर्क । अरुलाई दुख दिन चाहने मानिसहरुले केसम्म गर्दैनन । न्यूयोर्कको एउटा अदालतमा हालै देखिएको घटनाले त्यही देखाएको छ ।
अदालतमा सुनुवाई चलिरहेको बेला कुनै व्यक्तिले साङ्ला भरिएको ब्याग खोलेर छोडेपछि त्यहाँ भागदौड मच्चिएको हो । एशोसिएट प्रेसले प्रकाशित गरेको समाचार अनुसार, अदालती कार्यवाही चलिरहेको बेला साङ्ला छोडिएको थियो ।
अकस्मात हजारौंको संख्यामा साङ्लाहरु यत्रतत्र देखिन थालेपछि न्यायाधीशले एक दिनका लागि कोर्ट बन्द गर्ने आदेश नै दिनुपर्यो ।
न्यूयोर्ककको अलबनी सिटी कोर्टमा चारजनामाथि सुनुवाई चलिरहेको बेला यस्तो घटना भएको हो । ती साङ्ला कसले लिएर आएका थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
सामाजिक सञ्जालमा यो घटनामा रोचक प्रतिक्रियाहरु देखिएका छन् । मानिसलाई आतंकित पार्ने सिर्जनशील तरिका भन्दै कतिपयले मजाक उडाएका छन् ।