अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीमा उजुरी

एजेन्सी। दक्षिण भारतीय सिनेमाका अभिनेता अल्लु अर्जुन केही अघिसम्म ‘पुष्पा’ फिल्मबाट थप चर्चामा थिए। उनको यो फिल्मलाई दर्शकले खुबै रुचाएका थिए। फिल्ममा अल्लुको अभिनय र शानदार डान्स मुभलाई धेरैले नक्कल पनि गरे। फिल्मको पहिलो भागको सफलतापछि अब शुभचिन्तकहरू दोस्रो भागको प्रतीक्षामा छन्। यहीबीच अभिनेतासँग जोडिएको एउटा खबर बाहिरिएको छ।

भारतीय मिडियाको रिपोर्टअनुसार, दक्षिण सुपरस्टार अल्लु एक शैक्षिक संस्थाको समर्थन गरेकाले आलोचनाको घेरामा परेका छन्। सामाजिक कार्यकर्ता उपेन्द्र रेड्डीले अल्लु अर्जुनको अनुहार देखाइएको संस्थानको विशेष विज्ञापनले भ्रामक र गलत जानकारी दिएको भन्दै उजुरी हालेका छन्। उजुरीमा रेड्डीले यसविरुद्ध कारबाहीको माग गरेका छन्।

उजुरीमा उनले श्री चैतन्य शैक्षणिक संस्थान र विज्ञापनमा देखिएका अल्लु अर्जुनविरुद्ध कारबाही गर्नुपर्ने माग गरेका छन्। मानिसहरूलाई धोका दिएको आरोपमा अल्लु अर्जुन र श्री चैतन्य शैक्षणिक संस्थाविरुद्ध मुद्दा चलाउन रेड्डीको आग्रह छ।

अल्लु अर्जुनले खेलेको विज्ञापनमा विवाद भएको यो पहिलो घटनाचाहिँ होइन। यसअघि उनले एक फुड डेलिभरी एपको मार्केटिङ गर्दा आलोचना खेप्नुपरेको थियो। यति मात्र होइन, उनलाई सरकारी परिवहन सेवाहरूको अवहेलना गरी एक बाइक एपलाई बढवा दिएको घटनामा चेतावनी समेत दिइएको थियो।

कमेन्ट गर्नुहोस्