नेपाली सेनालाई एसपिपी मान्य छैन- प्रधान सेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम नेपालका लागि आवश्यक नभएको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपीका बारेमा नेपाली सेनाले पत्राचार गरेको भएपनि त्यो नआएको र आए पनि मान्य नहुने बताए ।

“एसपीपीमा कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन” प्रधानसेनापति शर्माले भने । “बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्छ ।”

सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियो ।”मानवीय सहयोगका लागि चिठी लेखेको हो सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने होइन,” उनले भने ।

‘कात्तिक १० गते २०७२ मा पत्र लेखिएको हो। नेपालमा भर्खर भूकम्प आएको बेला २७ देशको सैनिक सहायता लिएर पीडित नेपाली दाजुभाई दिदीबहिनीलाई सहयोग गर्न आएका सैनिक र गैरसैनिक सहयोगलाई बढावा गर्न र सहयोग गर्न लेखिएको चिठी साँचो हो’, शर्माले समितिको बैठकमा भने, ‘यो चिठी कुनै मिलिटरी अलायन्समा बस्नुपर्ने र यो चिठी लेख्दैमा मिलिटरी अलायन्स हुने कुराको म विरोध पनि गर्न चाहान्छु। यसमा लेखिएका भाषा सबै नेपाली दाजुभाइ दिदीबहिनीले पढेका बुझेका छन्। यसमा सेक्युरिटी रिलेसनसिप र अन्य सहयोगको कुरा भनेको छ। पछि अर्को दुई वटा चिठी लेखिएको पनि हो। किन लेखियो भन्दा अमेरिकी सरकारबाट उटा राज्यको स्टेट पार्टनसिप प्रोग्राममा दिइने जुन फण्ड छ त्यसले नेपाली सेनालाई विभिन्न प्रकारलाई भूकम्पमा काम लाग्ने, पहिरोमा काम लाग्ने, डुबेको ठाउँमा काम लाग्ने चिजहरु ल्याउन अमेरिकी सरकारले यस्ता सहयोगहरु स्टेट पार्टनसिप प्रोग्राम अन्तर्गतबाट दिने र सजिलो हुने भन्ने कुरा भएपछि त्यो प्रोग्राम अन्तर्गतको मानविय सहायता ल्याउने लक्ष्यका साथ गरिएको हो। न कि यो कुनै नेपालको परराष्ट्र नीतिको बर्खिलाप जाने र सैनिक गठबन्धन गर्ने कुराको हैन।’

invotech

एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजोडिने स्पष्ट भाषामा भनिएको प्रधानसेनापति शर्माले बताए ।

कमेन्ट गर्नुहोस्