भौतिक विकास मात्रै होइन मानव संसाधन विकासमा जोड दिनुपर्छ : अध्यक्ष प्रचण्ड

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विकासको प्राथमिकतामा परिर्वतन गर्नुपर्ने बताएका छन् । भरतपुरमा आयोजित समृद्ध भरतपुर महानगर निर्माणको आगामि कार्यदिशा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले भौतिक विकास मात्रै होइन मानव संसाधन विकासमा जोड दिनुपर्ने बताए ।

अब बाटो खन्ने भौतिक संरचना ठड्याउने कार्य मात्रै विकास हो भन्ने मानसिकता परिर्वतन गर्नुपर्ने प्रचण्डको भनाई थियो । उनले भौतिक विकास सँगसँगै भरतपुर महानगरले उत्पादन र रोजगारी सामाजिक सुरक्षाका क्षेत्रमा काम गर्नुपर्ने बताए ।

उनले भने, ‘अब महानगरले मानवसंसाधनको विकास, उत्पादन वृद्धि गर्ने र रोजगारी वृद्धि गरी आम जनतालई स्वरोजगार बनाउने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ । ‘

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली नक्कली राष्ट्रवादको कुरा गर्ने व्यक्ति भएकोले त्यसको पछि नलाग्न आग्रह गरे ।अहिले चर्चामा रहेको एसपीपी कार्यक्रम पनि ओलीकै कार्यकालमा भएको उनको भनाई थियो ।

‘मैले हिजो विहानै एमसीसीका बारेमा भ्रामक काम गर्ने पनि र यो एसपीपी पनि ओलीकै पालामा भएको भनेको थिए थियो । नभन्दै त्यसको पुष्टी पनि भयो । राष्ट्रवादको ढोङको पछि नलाग्न र सक्कली राष्ट्रवादी हुन आपिल गर्दछु ।’ प्रचण्डले भने ।

अहिले संविधान संस्थागत हुने दिशातर्फ अघि बढेको बताउँदै उनले अव कसैले पनि प्रतिगमन तर्फ लान नसक्ने उनले बताए । अध्यक्ष प्रचण्डले संविधानको ट्रयाकबाट देश बाहिरिने हो कि भन्ने खतरा भईरहेका बेला स्थानीय तहको चुनाव सम्पन्न गराउन सकेको भन्दै खुसी व्यक्त गरे ।

चुनावमा आफ्नो पार्टीले जति सिट जितेपनि समग्र राजनीति जितिएको प्रचण्डको टिप्पणी थियो । अहिले माओवादी, कांग्रेस, एमाले जसले जितेपनि आफैंले जितेजस्तो लागेको उनले बताए । अहिले देशमा एउटा एक्लै हिड्ने प्रबृति र अर्को मिलेर हिड्ने प्रबृतिका बीचमा लडाई चलिरहेको भन्दै आफुहरु मिलेर जाने प्रवृतिको नेतृत्व भएको प्रचण्डको भनाई थियो ।

प्रचण्डले गठबन्धन संघ र प्रदेशको चुनावसम्म नै रहने भन्दै शान्ति प्रक्रियाका बाँकि कामको पुर्णतासम्म नै गठबन्धन लानुपर्ने बताए ।

 

कमेन्ट गर्नुहोस्