माओवादी केन्द्र निकट कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन भएका छन् । राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा प्रेम खनाल चयन भएका छन् ।

 

महासङ्घले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महासङ्घको कूल १५५ सदस्यीय केन्द्रीय समिति रहेको छ । स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासङ्घले जनाएको छ ।

माओवादीका अध्यक्ष प्रचण्डले आइतबार काठमाडौंको बबरमहलमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिएका थिए । उनले सङ्घीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागि परेकाले त्यसका विरुद्ध सङ्घर्ष गर्न आग्रह गरेका थिए ।

महासङ्घका फ्याक्सन इञ्चार्जसमेत रहेकी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमान्दार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिएकी थिइन् । देशभरका कर्मचारीको टे«ड युनियनमध्ये महासङ्घ पनि एक हो ।

कमेन्ट गर्नुहोस्