एन्फा अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी शेर्पाको नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले शुन्य मत प्राप्त गरे ।

यस्तै वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का निर्वाचित भए ।

नेम्बाङको प्यानलमा रहेका खड्काले कर्माछिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई हराए ।

खड्काले ४४ मत प्राप्त गर्दा पराजुलीले ४० मत प्राप्त गरे ।

उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराट जंग शाही र दुर्गा बहादुर केसी निर्वाचित भए ।

लामाले ४८, खतिवडाले ४७, शाहीले ४७ र केसीले ४३ मत पाए ।

केसी भने अध्यक्षमा पराजित शेर्पाको प्यानलबाट निर्वाचित भएका हुन् । अन्य उपाध्यक्ष नेम्बाङ प्यानलबाट निर्वाचित भएका हुन् ।

सुन्दर नरसिंह जोशी, उपेन्द्र मान सिंह, विज्ञानराज शर्मा र रत्न कुमार श्रेष्ठ पराजित भए ।

महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका छन् ।

श्रेष्ठले ४६ मत र लामाले ४३ मत प्राप्त गरिन् । विन्द्रा देवान र विना श्रेष्ठ पराजित भए ।

केन्द्रीय सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा,रमेश ब्यन्जनकार, मनिराज विष्ट,टिकाराम लामा,भरत बुढा थापा निर्वाचित भए ।

बाँकी दुई सदस्य भने आगामी एन्फा महाधिवेशनमा तय गरिने छ । दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले ३९ मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार आगामी एन्फा महाधिवेशनबाट दुई सदस्य तय गरिने एन्फाले जनाएको छ ।

यस्तै महासचिव र कोषाध्यक्ष भने मनोनित हुनेछन् ।

निर्वाचनमा शतप्रतिशत ८४ मत खसेको थियो । यस पटकको निर्वाचनमा ८४ भोटरले मताधिकार पाएका थिए ।

 

कमेन्ट गर्नुहोस्