लखनऊ । सत्तरी वर्षको उमेरमा बिहे गर्ने शौकले लखनउका एकजना चिकित्सकलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको छ ।
लखनऊ निवासी एकजना मुटुरोग चिकित्सकले सत्तरी वर्षको उमेरमा बिहे गर्ने निर्णय गरेर विज्ञापन दिएपछि उनका खराब दिन सुरु भएका थिए ।
आजतकमा प्रकाशित समाचार अनुसार, विज्ञापन दिएपछि कैयन महिलाहरुले उनीसमक्ष प्रस्ताव राखेपनि अन्ततः उनले कृशा शर्मा नामक एकजना महिलालाई मन पराए ।
तीनवर्षअघि श्रीमतीको निधन भएपछि एक्लै बस्दै आएका ती चिकित्सकसँग महिलाले फोन र व्हाट्सएपमा कुराकानी सुरु भयो । ती महिलाले आफूलाई मरिन इन्जिनियर बताउँदै अमेरिकाको फ्लोरिडामा बस्ने र छिटै भारत आउने कुरा गर्न थालिन ।
गत जनवरीमा विज्ञापन प्रकाशन गरेको चिकित्सकसँग ती महिलाको कुराकानी हुँदै गर्दा एकदिन ती महिलाले आफूले अफ्रिकामा निकै सुन किनेको र भारत ल्याउन खोजेको जानकारी दिइन । यति धेरै सुन आफुसँग ल्याउन जोखिमपूर्ण हुने भएकोले कुनै कम्पनीले उक्त सुन भारत पठाइदिने समेत उनले बताइन ।
केही दिनपछि रोयल सेक्युरिटी नाम गरेको कम्पनीबाट ती चिकित्सकलाई फोन आयो । कम्पनीबाट कृशा शर्माले सुन पठाएको र त्यसलाई भारतमा बुझ्न भनिएको थियो । तर कष्टम ड्यूटि र परमिशन शुल्कका लागि एक करोड ८० लाख भारतीय रुपैयाँ लाग्ने भएकोले उक्त रकम तिर्न समेत कम्पनीले भन्यो ।
कृशा शर्मासँग बिहे नै गर्ने छिनोफानो गरिसकेका चिकित्सकले उक्त रकम कम्पनीलाई पठाए ।
त्यसपछि उनले कृशालाई फोन गरे तर फोन बन्द थियो । लगातार फोन गर्दा समेत सम्पर्क हुन नसकेपछि बल्ल डाक्टरले आफू ठगिएको चाल पाए ।
त्यसपछि उनले साइबर क्राइम थाना लखनऊमा घटनाको जानकारी गराउँदै मुद्दा दर्ता गरेका छन् ।
एडिसिपी राघवेन्द्र मिश्राका अनुसार, चिकित्सकको निवेदन दर्ता गरेर प्रहरी अनुन्धानमा जुटेको छ ।