विपद् व्यवस्थापनको तयारीमा रहन स्याङ्जाका सिडियोको आग्रह

स्याङ्जा । स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले स्याङ्जामा विपद् व्यवस्थापनका लागि पालिकाहरु र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

बर्षा सुरु भइसकेको र जिल्लामा विपदजन्य घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दे स्याङ्जाका ११ वटै पालिका र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।

पालिकाहरुले विपद्को आँकलन गरेर आआफ्नो विपद् कोषमा पर्याप्त रकम विनियोजन गर्न र आवश्यक सामग्री खरिद गरी मौज्दात राख्न अनुरोध गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए।

बैठकद्वारा वर्षाको मौसममा बाढी पहिराले सडकका संरचना बिगार्न सक्ने भएकाले आवश्यक पर्ने डोजर, इक्साभेटरलगायतका सामाग्रीका साथै यसका चालकहरुलाई समेत तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।

बैठकले विपद् व्यवस्थापनका लागि आवश्यकता अनुसारका सामग्रीहरु खरीद गरि तीनवटै सुरक्षा निकायलाई उपलब्ध गराउन स्थानीय पालिकालाई अनुरोध गरेको छ ।

बैठकले पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकाको सिमानामा रहेका भालु पहाड, गल्याङ् नगरपालिका– १ स्थित राम्दी प्रहरी चेकपोष्ट माथिको पहिरो, गल्याङ् २ को मगर समाज भवन र सो वरपरका ४ घर लगायत आसपासका क्षेत्र, वडा नं. ३ लल्याङ् स्थित ८० घर परिवार उच्च जोखिममा रहेको पनि औल्याएको छ ।

कमेन्ट गर्नुहोस्