एसपीपि अस्वीकार गर्ने नेपालकाे निर्णयको चीनद्वारा प्रशंसा

काठमाडौं । नेपालले अमेरिकाको स्टेट पार्टनरशीप कार्यक्रममा सहभागी नहुने निर्णय गरेकोमा चीनले प्रशसा गरेको छ ।

चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एसपीपीमा अगाडि नबढ्ने नेपालको निर्णयलाई प्रशंसा गरेका हुन् । पत्रकारले उनलाई नेपालबाट एसपीपी अस्वीकार भएको विषयमा प्रश्न गरेका थिए । जवाफ दिने क्रममा वाङले विभिन्न राजनीतिक दल र गुट, सरकार, सेना र नेपाली जनताले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग जोडिएको सैन्य र सुरक्षा कार्यक्रमका रूपमा हेरेकाले नेपालमा व्यापक रूपमा विवादित भएको उल्लेख गरेका थिए । नेपालीले राष्ट्रिय हित र असंलग्न एवं सन्तुलित परराष्ट्र नीतिका आधारमा एसपीपीमा आबद्धता अस्वीकार गरेको उनको भनाइ थियो । ‘नेपालको मित्रवत् र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ,’ वाङले भने ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डता र नेपालको स्वतन्त्र र गैरअखण्डताप्रतिको प्रतिबद्धतालाई चीनले निरन्तर समर्थन गर्ने पनि बताए । चीन नेपालसँग मिलेर क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षा गर्न चीन तयार रहेको पनि उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्