अन्ततः अमेरिकी सिनेटले पारित गर्यो बन्दूक नियन्त्रण विधेयक

न्यूयोर्क, अमेरिकाको सिनेटले बन्दूक नियन्त्रण विधेयकलाई पारित गरेको छ ।

कानुन अनुसार नै हतियार किन्ने छूट भएका कारण अमेरिकाका कैयन सहरमा हिंसा फैलिएपछि बन्दूक नियन्त्रण कानुनका लागि आन्दोलन चर्किँदै आएको थियो ।

पछिल्ला केही दिनयता कैयन स्कूल, पब, रेष्ट्रेन्ट तथा सार्वजनिक स्थलमा अन्धाधुन्ध गोली प्रहारबाट दर्जनौंको मृत्यु भएको थियो । खासगरी स्कूलमा गोली प्रहार भएपछि आम नागरिकहरुले बन्दूक नियन्त्रण कानुन ल्याउनुपर्ने माग राखेका थिए । कैयन सहरमा प्रदर्शन चुलिएको थियो । अमेरिकी सदनमा यससम्बन्धी विधेयक पारित हुनेमा भने आशंका थियो किनभने कैयन सांसदहरु गन राख्न पाउने र किन्न पाउने अहिलेको कानुनको पक्षमा थिए ।

संसदको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटहरुलाई १५ जना रिपब्लिकन सांसदको समर्थन प्राप्त भएपछि विधेयक पारित भएको हो । सिनेटमा रहेका कूल १०० सीटमध्ये बन्दूक नियन्त्रण कानुनको पक्षमा ६५ मत प्राप्त भएको हो ।

माथिल्लो सदनले पारित गरेपछि अब उक्त विधेयक तल्लो सदनमा प्रस्तुत गरिनेछ ।
नयाँ कानुनमा बन्दूक किन्नका लागि २१ वर्ष भन्दा कम उमेरका लागि निकै कडा प्रावधानको व्यवस्था गरेको छ । यसका साथै मानसिक स्वास्थ्य कार्यक्रम तथा विद्यालय सुरक्षाका लागि संघबाट १५ बिलियन डलर सहायता कार्यक्रमको समेत प्रावधान राखिएको छ ।
अमेरिकाको इतिहासमा बन्दूक नियन्त्रणका लागि संसदमा यति ठूलो सहयोग प्राप्त भएको पछिल्लो दशकमा यो पहिलो घटना हो ।

कमेन्ट गर्नुहोस्