देशलाई नयाँ युगतिर लैजाने सपना छ : अध्यक्ष प्रचण्ड

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन् । आज ( शुक्रबार) नेपाल पर्वतारोहण संघले आशीर्वाद दिएको प्रसंग उल्लेख गर्दै प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गरे ।

‘पहिलो चोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बिती गो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ,’ उनले भने ।

राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि दाहालले बताए । ‘आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन,’प्रचण्डले भने।

वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उनको भनाइ थियो । फेरि एक पटक देशको नेतृत्व गरेर नयाँ युगमा मुलुकलाई लैजाने आफ्नो सपना रहेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरुको आशीर्वाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ । किनकि मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको बताए । उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्